बीबीसी : थाईल्यान्डको ब्याङ्ककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी एउटी साउदी युवतीले आफ्नो जीवन असुरक्षित भएको भन्दै फर्किन अस्वीकार गरेकी छन्। थाई अध्यागमन अधिकारीहरू १८ वर्षीया रहाफ मोहम्मद अल-कुकुनलाई उनको कुवेत पठाउने योजनामा छन्। उनको परिवार हाल कुवेतमा छ।
उनलाई चढाएर पठाउन लागिएको कुवेत जाने विमान नउडुन्जेल मोहम्मद अल-कुकुन विमानस्थलस्थित होटलको एउटा कोठा थुनेर बसिन्।
आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल-कुकुनले बीबीसीलाई बताएकी छन्।
आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै उनले समाचारसंस्था रोयटर्सलाई भनिन्, “मेरा दाजुभाइ र परिवार एवम् साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन सङ्कटमा छ।”
उनलाई कुवेत पठाउन भनेर थाई अधिकारीहरू उनको कोठाबाहिर उभिइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। मानवाधिकारवादी संस्थाहरूले उनको सुरक्षाबारे चासो व्यक्त गरेका छन्।
ह्युमन राइट्स वाच एशिया क्षेत्रका सहायक निर्देशक फिल रोबर्ट्सनका अनुसार संयुक्त राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकायसँग भेट्न र शरण माग्न नदिइएसम्म कोठाबाट बाहिर नहाउने उनको अडान छ।
उनलाई कुवेत फिर्ता नपठाइयोस् भनेर प्रतिषेधका लागि ब्याङ्ककको एउटा अदालतमा आवेदन गरिएको उनले बताएका छन्।
उनी लेख्छन्, “समय छोटो छ र उनी डरलाग्दो परिस्थितिमा छिन्।”
रहाफ मोहम्मद अल-कुकुन किन भागिन्?
परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहाफ मोहम्मद अल-कुकुन दुई दिनअघि त्यहाँबाट भागेकी हुन्। ब्याङ्कक हुँदै अस्ट्रेलिया जाने उनको प्रयास थियो।आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल-कुकुनले बीबीसीलाई बताएकी छन्।
ब्याङ्ककबाट बीबीसीका जोनाथन हेड भन्छन् – रहाफ मोहम्मद अल-कुकुन त्रस्त र व्याकुल छिन्। आफूसँग अस्ट्रेलिया जाने प्रवेशाज्ञा भएको तर सुर्वणभूमि विमानस्थलमा आफूलाई भेट्ने एक साउदी कूटनीतिज्ञले राहदानी खोसेको उनको दाबी छ।
तर साउदी अधिकारीहरूका अनुसार राहदानी उनीसँगै छ र फर्किने हवाई टिकट नभएकाले उनलाई नियन्त्रणमा लिइएको हो। अस्ट्रेलियामा शरण पाइने उनको अपेक्षा थियो।
ह्युमन राइट्स वाचका मध्यपूर्वका सहायक निर्देशक माइकल पेजले एउटा विज्ञप्तिमा “परिवार छोडेर भागेका साउदी महिलाले उनीहरूको इच्छाविपरीत फर्किए आफ्नै नातेदारबाट कठोर हिंसा, स्वतन्त्रताको अपहरण र अन्य गम्भीर हानि खेप्नु पर्ने हुन्छ” भनेका छन्।
ब्याङ्ककस्थित साउदी दूतावासले रहाफ मोहम्मद अल-कुकुनलाई “फिर्ती टिकट नभएकाले” विमानस्थलमा समातिएको र उनलाई उनका परिवारजन बसेको ठाउँ कुवेत फर्काइने जनाएको छ।
साउदी अधिकारीहरूसँग उनलाई ब्याङ्ककस्थित विमानस्थल वा अन्यत्र समात्ने अधिकार नभएको दूतावासको एउटा विज्ञप्तिमा उल्लेख छ। अधिकारीहरू उनका पिताको सम्पर्कमा भएको उसले जनाएको छ।
‘पारिवारिक समस्या’
थाई प्रहरीका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएअनुसार ती युवती विवाह नमानेर भागेकी हुन्। मेजर जेनरल सुरचाते हक्पर्नका अनुसार रहाफ मोहम्मद अल-कुकुनसँग थाईल्यान्डको प्रवेशाज्ञा नभएकाले प्रहरीले उनलाई थाईल्यान्डमा प्रवेश नदिएको र उनी आएकै कुवेत एअर्वेजमार्फत् फिर्ता गर्ने प्रक्रिया थालिएको छ।
तर राहदानी खोसिएको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताएका छन्। उनले समाचार संस्था एएफपीलाई यो परिवारभित्रको समस्या भएको र ती युवतीसँग फर्किने टिकट र पैसा एवम् थप कागजपत्र नभएको बताएका छन्।
तर ह्युमन राइटस् वाच एशियाका सहायक निर्देशक फिल रोबर्ट्सनका अनुसार थाई सरकारले ती युवतीले “प्रवेशाज्ञाका लागि आवेदन गरेको तर त्यो अस्वीकृत भएको” भनेर कुरा बनाएको आशङ्का व्यक्त गरेका छन्।
उनले बीबीसीलाई बताए, “…वास्तवमा उनीसँग अस्ट्रेलिया जाने टिकट थियो। थाईल्यान्ड प्रवेश गर्न उनको इच्छा नै थिएन।” थाई पक्षले साउदी अरेबियालाई सघाएको स्पष्ट रूपमा देखिएको छ किनभने साउदी अधिकारीहरू ती युवती आएको विमानमै पुगेका थिए।
उनीबारे चर्चा कसरी भयो?
गत सप्ताहान्त सामाजिक सञ्जालमा उनले लेखेको कुराले धेरैको ध्यान आकर्षित गर्यो। आफूलाई केही भइहाल्यो भने विकल्पका रूपमा उनले आफ्नो एकजना साथीलाई पनि ट्विटर चलाउन दिएकी छन्।
मोहम्मद अल-कुकुनले बीबीसी न्यूजआवारलाई आफू ट्रान्जिट क्षेत्रमा भएको एउटा विमानमा बसेको बताएकी छन्।
उनले भनिन्, “मैले मेरो कथा र तस्बिर सामाजिक सञ्जालमा प्रेषित गरेँ। र मैले त्यसो गरेकाले मेरा बुवा एकदमै क्रुद्ध हुनुहुन्छ… म आफ्नो देशमा अध्ययन गर्न र काम गर्न पाउँदिनँ। त्यसैले म स्वतन्त्र हुन चाहन्छु एवम् आफूले चाहेअनुसार पढ्न र काम गर्न चाहन्छु।”
साउदी अरेबियाको कानुनले पुरुषको अभिभावकत्वविना महिलाहरूलाई काम गर्न, यात्रा गर्न वा ब्याङ्कमा खाता खोल्ने जस्ता सामान्य गतिविधि पनि गर्न दिँदैन।
आफूले अब केही पनि गुमाउन बाँकी नरहेको भन्दै मोहम्मद अल-कुकुनले आफ्नो नाम र विवरण सार्वजनिक गरेको ट्विटरमा लेखेकी छन्।
उनले विश्वभरि रहेका देशहरूसँग आफूलाई शरण दिन आग्रह गरेकी छन्।
यो घटनाले सन् २०१७ को एप्रिल महिनामा अस्ट्रेलियाबाट उडेकी अर्की महिलासँग भएको व्यवहारको स्मरण गराएको छ। फिलिपिन्सको बाटो हुँदै कुवेत जान लागेकी डिना अली लास्लूम नाम गरेकी २४ वर्षीया महिलालाई उनको परिवारले मनिला विमानस्थलबाट साउदी अरेबिया लगेको थियो।
उनले क्यानडाका एक पर्यटकको फोन प्रयोग गरेर एउटा सन्देश पठाएकी थिइन्। आफ्नो परिवारले उनलाई मार्न सक्ने भन्दै त्यसबारे एउटा भिडिओ ट्विटरमा प्रेषित भएको थियो।
साउदी अरेबिया फर्काइएपछि उनक स्थितिबारे कसैलाई थाहा छैन।