आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध ‘अकुत’ मुद्दा

admin

काठमाडौँ, पुस २४ : नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनले १८ करोड ६६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको अभियोग छ । पत्नी शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत अवैध सम्पत्ति लुकाएको दाबीसहित तिनलाई प्रतिवादी बनाइएको छ । खड्कालाई तीन वर्षसम्मको जेल, विगो जफत र त्यति नै रकम बराबर जरिवानाको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

नविनकुमार घिमिरे अख्तियार प्रमुख बनेपछि अकुत सम्पत्ति आर्जनको अभियोगमा दायर भएकामध्ये यो सबैभन्दा ठूलो विगोको मुद्दा हो । विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले अभियोगपत्र रुजु गरी मुद्दा दर्ता गरिएको जानकारी अन्नपूर्णलाई दिए । ‘म आएपछि चार–पाँच करोडदेखि आठ–दश करोडसम्मका अकुत मुद्दा आएका छन् । यति ठूलो परिमाणको मुद्दा आएको थिएन,’ श्रेष्ठले भने, ‘सम्पत्तिको बजार मूल्य बढेकाले पनि हुनसक्छ ।’खड्काले विभिन्न व्यक्तिको नाममा खरिद गरेको सात करोड रुपैयाँभन्दा बढीको सम्पत्तिसमेत जफतको माग गरेको छ । दसीको रूपमा ८९ लाख ८९ हजार रुपैयाँ पनि पेस गरिएको छ । उक्त रकम काठमाडौंको साबिक बूढानीलकण्ठ गाविस ७ ‘ग’ मा रोड शो रियलस्टेट प्रालिले निर्माण गरेको घर किन्न बैनावापत दिइएको अभियोगपत्रमा उल्लेख छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

 

अभियोगपत्रअनुसार खड्काले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ साल चैत २ गतेसम्म विभिन्न शीर्षकमा २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ ७६ पैसा खर्च एवम् लगानी गरेका छन् । तर वैध स्रोत खुलेको आय केवल आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँ ५३ पैसा देखिएको छ । १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ २३ पैसा बराबर सम्पत्तिको स्रोत खुलेको छैन । त्यो सम्पत्ति जफत गरी जरिवाना समेत असुल्न अख्तियारले अदालतमा माग गरेको छ । खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकालदे हदैसम्म सजाय तोक्न माग गरिएको छ । खड्का सार्वजनिक पदधारी भएकोले ऐनको दफा २४ अनुरुप थप एक वर्ष सजायको पनि माग गरिएको छ ।

 

अख्तियारका अनुसार अनुसन्धान अवधिसम्ममा खड्काले पुख्र्यौैलीबाहेक तीन वटा घर निर्माण तथा खरिद गरिसकेका थिए । दुई वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकिएको अभियोगपत्रमा उल्लेख छ ।तेह्रथुम स्थायी ठेगाना भई बूढानीलकण्ठ नगरपालिका–४ बस्ने अमिता लामा सोदेम्बाको नाममा खड्काले ७ करोड ५४ लाख ५७ हजार ८ सय रुपैयाँ लुकाएको आरोप अख्तियारले लगाएको छ । सोदेम्बाको नाममा काठमाडौंको साबिक महांकाल गाविस–४ स्थित कित्ता नम्बर १९१ मा रहेको तीन करोड २५ लाख रुपैयाँमा किनिएको घर, साबिक बूढानीलकण्ठ गाविस वडा नम्बर ३ ‘ख’ स्थित कित्ता नं. ६८९, १४८२ र १५२० को ४० लाख ११ हजार आठ सय ७५ रुपैयाँमा किनिएको आठ आना जग्गा, महांकाल–४ स्थित कित्ता नम्बर ३५० मा सीजी डेभलपर्सले निर्माण गरेको घर किन्न भुक्तानी गरेको तीन करोड पाँच लाख रुपैयाँ र ८४ लाख ४६ हजार रुपैयाँमा खरिद गरेको बा१६च ८४८४ नम्बरको टक्सन गाडीसमेत जफत गर्ने माग अख्तियारले राखेको छ । अमिता लामाकै नाममा रहेको एनएमबी र सिटिजन बैंकका खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको दाबीसमेत अख्तियारको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू