भक्तपुरका स्थानीय भन्छन् रंगशाला बनाएमा ‘रगतको खोलो बग्छ’

रिता घिसिंग

भक्तपुर : भक्तपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालाविरुद्ध भक्तपुरका पीडित बासिन्दाहरु सोमबार फेरि विरोध प्रदर्शन गरेका छन्। पीडित किसानहरुको तर्फबाट गठित प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल नंखेलका किसानहरुले भक्तपुरको नंखेलबाट विरोध र्‍याली गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर घेराउ गरेका हुन्।

कोणसभामा पीडित संघर्ष समितिका संयोजक हरिकृष्ण दनेगुलूले स्थानीयको बस्ती उठाएर रंगशाला बनाउन नदिने बताए। त्यहाँका बासिन्दाहरुको मुख्य पेशा नै कृषि रहेका कारण खेति योग्य जमिन मासेर रंगशाला बनाउदा धेरै कृषकहरुको उठिबास नै हुन्छ।

सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ तौडोल र महत गाउँंमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय रंगशालाको विरोधमा पटकपटक विरोध प्रदर्शन गर्दै आएका उनीहरु गत साता युवा तथा खेलकुद मन्त्रालयले पक्रिया अगाडि बढाउने तयारी गरेपछि आक्रोशित भएका हुन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिने रङ्गशालाको लागि एक हजारदेखि आवश्यकता अनुसार एक हजार पाँंच सय रोपनीसम्मको जग्गा आवश्यक पर्ने अनुमान छ। यसका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको अनुरोधमा सूर्यविनायक नगरपालिकाले व्यवस्था गर्ने छलफलपछि सहमति भएको जनाइएको छ।

उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजनाको माध्यमबाट गरिने जनाइएको छ। जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकता अनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ।

प्रतिक्रिया