सक्कली डलरको बिटो भित्र कागज राखी कारोबार गर्ने २ जना पक्राउ

रिता घिसिंग

काठमाडौँ : ठगीमा संलग्न गिरोहहरुले नयाँ नयाँ जुक्ति लगाएर ठगी गर्दै आएको खुलासा भएको छ। उनीहरुले बाहिर सक्कली डलर राखेर भित्र डलरजस्तो देखिने कागज राखी कारोबार गर्दै आएको खुलेको हो। ठगीमा संलग्न गिरोहले सस्तोमा नेपाली रुपैयाँसँग डलर साट्ने प्रलोभन देखाएर ठग्ने क्रम बढ्दै गइरहेको प्रहरीले जनाएको छ।

डलरको बिटोको बाहिर सक्कली डलर र भित्र ठ्याक्कै डलर जस्तो देखिने कागज राखेर ठगी गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली जिल्ला दुधौली– १० का २८ वर्षीय कुमसिंह घिसिङ र काठमाडौ बस्ने ३० वर्षीय प्रेमबहादुर तामाङ रहेका छन्।

उनीहरुले लामो समयदेखि नक्कली डलरको कारोबार गर्दै आएका थिए। विभिन्न व्यक्तिलाई भेटेर डलर साटिदिन्छु भन्ने र लामो समयदेखि लुटपाट समेत गर्दै आएको प्रहरीले जनाएको छ। अपराधमा सक्रिय रुपमा संलग्न रहेका दुई जनाबाट प्रहरीले २३ हजार ७ सय ९० नेपाली रुपैयाँ, डलर जस्तो देखिने कागजको बिट्टा ४ थान बरामद गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निजहरुले २० लाखभन्दा बढी ठगेको खुलेको महानगरीय प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटी भन्छन्, ‘उनीहरुले अझ ठूलो रकम ठगी गरेको हुन सक्छ, यसबारे हामी थप अनुसन्धान गर्छौँ।’

डलर जो कोही व्यक्तिबाट साट्नु पनि अवैधानिक मानिन्छ। यसकारण डलर साट्ने निहुँमा ठगिएकाहरु आँफै पनि प्रहरीसम्म आउन डराउने प्रहरी प्रवक्ता बोगटीको भनाइ छ।

उनी भन्छन्, ‘जथाभावी डलर साट्नु अवैधानिक काम हो, त्यसैले यसरी ठगिएकाहरु चुपचाप नै हुुन्छन्।’ अभियुक्तलाई प्रहरीले सोमबार गोंगबु परिसरको विशेष टोलीले पक्राउ गरेको थियो। उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी परिसर टेकुमा ल्याइएको र थप अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया