काठमाडौँको सडक क्षेत्रबाट उद्धार गरिएका अशक्तहरुमा उच्च रक्तचाप र दमको समस्या

admin

काठमाडौँ, २४ पुस: काठमाडौँको विभिन्न सडक क्षेत्रबाट उद्धार गरी आश्रममा राखिएका असहाय, अशक्त तथा वृद्धवृद्धामा उच्च रक्तचाप र दमको समस्या देखिएको छ । आज नेपाल प्रहरी अस्पतालको चिकित्सक टोलीले काठमाडौँ टोखा नगरपालिका–९ हिमालय वृद्धाश्रम गोङ्गबुमा रहेका वृद्धवृद्धाहरूको स्वास्थ्य चेकजाँच गर्दा यस्तो पाइएको चिकित्सक डा अमित ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार केहीमा घाउ, खटिरा पाकेको पाइएकाले औषधि चलाइएको छ । आवश्यक थप औषधि बुधबार लगिनेसमेत उहाँले बताउनुभयो ।

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आज सञ्चालन भएको स्वास्थ्य शिविरमा नेपाल प्रहरी अस्पतालका चिकित्सक तथा अन्य स्वास्थकर्मीको सहभागिता थियो । प्रहरीले केही दिनअघि उद्धार गरेर राखेका १५ जनासहित गरेर उक्त आश्रममा रहेका ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । अस्पतालबाट केही महीना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी अन्य आश्रममा रहेकाको समेत स्वास्थ्य परीक्षण गरिने प्रहरीले जनाएको छ ।

डा अमित ठाकुरको नेतृत्वमा गएको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले प्रहरीले सडकबाट उद्धार अभियान चलाएकाले उद्धार गरिएका र आश्रममा रहेका अन्यको समेत स्वास्थ्य चेकजाँचको तयारी गरिएको जानकारी दिनुभयो । केही दिनदेखि काठमाडौंका सडकमा प्रहरी, मानवसेवा आश्रम, पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिकाले सडकमा बस्ने असहाय, वृद्धवृद्धा र असक्तहरुको उद्धार अभियान चलाएको छ ।
-रासस

प्रतिक्रिया