चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपपछि डा.केसी अनशन बस्दै

शर्मिला गुरुङ

काठमाडौं : डा.गोविन्द केसी आज फेरी अनशन बस्दैछन्। आज बुधबार बसेको समितिको बैठकले सरकार र डा.गोविन्द केसीबीच भएको संझौता विपरित शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित भएपछि डा. केसी अपरान्ह ४ बजेदेखि इलाममा अनशन बस्न लागेका हुन्।

२३ सदस्यीय समितिमा नेकपाका १५, कांग्रेसका ६ र राजपाका २ जना सांसद छन्। कांग्रेस सांसद गगन थापाले समितिको बैठकमा सरकारले डा. केसीसँग संझौता गरी धोका दिएको बताउँदै फरक मत राखेका थिए। उनले डा. केसीसँग गरिएको संझौता अक्षरश:कार्यान्वयन हुनुपर्ने माग गरेका थिए।

उनको फरक मतसहित समितिमा रहेका सदस्यको बहुमतले उप-समितिबाट समितिमा पेश गरिएको विधेयक सामान्य छलफल गरी पारित गरेका थिए। बैठकमा समिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले संझौता अनुसार विधेयक पारित गरिएको दावी गरे।

प्रतिक्रिया