म्याग्दी, २६ पुस : अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रु दुई करोडको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले रु दुई करोड छ लाख ६९ हजारको लागतमा सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन निर्माण गरेको हो ।
मृत सञ्जीवनी निर्माण सेवाले विसं २०७१ पुसमा शुरु गरेको भवनको पूर्वाधार निर्माण गरेर डिभिजनमार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कम्पनीका प्रतिनिधि गोपाल भट्टचनले बताउनुभयो ।
१८ महीनामा सम्पन्न गर्ने सम्झौता भए पनि भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण ढिलाई भएको भट्टचनले बताउनुभयो । १९ वटा कोठा भएको साढे दुईतले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधी भण्डारण, शै्या रहने छुट्टा÷छुट्टै कक्ष छन् ।
भूकम्प प्रतिरोधी क्षमताको अपाङ्ग मैत्री भवन निर्माणका लागि स्थानीयवासीले जग्गा दान गरेका थिए । हस्तान्तरण भएपछि यसै हप्ताबाट नयाँ भवनबाट सेवा शुरु गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।
यसअघि स्वास्थ्य चौकी राम्चेस्थित वडा कार्यालयको दुई वटा कोठाबाट सञ्चालन हुँदै आएको थियो । भवन र पर्याप्त पूर्वाधारको अभावमा सेवा प्रवाहमा समस्या भएको थियो । लामो समयको प्रतिक्षापछि स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएकोमा राम्चेबासी उत्साहित भएका स्थानीय अगुवा फासबहादुर गर्बुजाले बताउनुभयो । रासस