विमानस्थल सञ्चालन गर्न काटिएका चार सय रुख अलपत्र

शर्मिला गुरुङ

पर्वत, ६ माघ : साढे दुई दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत एक वर्षअघि काटिएका रूख अलपत्र परेका छन् ।

सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन् । आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ । तर, एक वर्षअघि बलेवास्थित विमानस्थल सञ्चालनका लागि भन्दै काटिएका रूख अझै छरपष्ट छाडिएका छन् ।

विसं २०१८ देखि सञ्चालन भएको विमानस्थल विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग बनेपछि बन्द भएको थियो । सडक सञ्जालले बलेवा नजोडिँदा जहाज चल्न सकेको थिएन । बागलुङ नगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत वर्ष सातामा दुई उडान भर्ने सहमति भएपछि असारमा एकाध जहाजले उडान भरेका थिए । २६ वर्षदेखि उपयोगविहीन बलेवा हवाई मैदानमा हिजोआज फेरि जहाज चल्न छाडिसकेको छ ।

विमानस्थलको कच्ची धावनमार्ग फेरि गौचरनमा परिणत भएको छ । जहाजलाई उडान–अवतरणका लागि आवश्यक भन्दै काटिएका सल्लाका रूख त्यसै अलपत्र छन् । बलेवास्थित डुगाचौर सामुदायिक वनको ४०० भन्दा बढी रूख जहाज चलाउनका लागि कटान गर्नुपर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेपछि स्थानीयवासीले काटेका थिए । “जहाज चलाउनका लागि रूख काट्नै पर्ने सल्लाह पाएपछि ढालिएको थियो”, वडाध्यक्ष चक्रबहादुर खत्रीले भन्नुभयो, “जहाज पनि नियमित भएन, रूख कसरी व्यवस्थापन गर्ने अन्योल भएको छ ।” हरेक काम गर्दा डिभिजन वन कार्यालयको अनुमति लिनुपर्ने बाध्यताले ढलेका रूख जस्ताको तस्तै रहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया