प्रादेशिक अस्पतालमा चिकित्सकको अभाव

admin

लमही, ७ माघ: दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव रहेको छ । सोह्र विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशिक अस्पतालमा अहिले छ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सर्वेश शर्माले बताउनुभयो । 

आफूसहित डा जनार्दन पन्थी, डा विनोद सिंह, डा मीनचन्द्र अधिकारी, डा पदमराज अधिकारी, डा प्रशङ्सा सिंह मात्रै रहेको उहाँको भनाइ छ । यीबाहेक १० विशेषज्ञको दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उहाँले बताउनुभयो । राष्ट्रियसभा सदस्य कोमल वलीले आइतबार उक्त अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालका समस्या सुनाउँदै उहाँले यस्तो जानकारी दिनुभयो । मानसिक रोग, छाला, नाक कान, बेहोस बनाउने, बलरोग तथा हड्डीसम्बन्धी विशेषज्ञ मात्रै रहे पनि अन्य विशेषज्ञ चिकित्सकको अभाव रहेको उहाँको भनाइ थियो । 

 

अस्पतालमा भौतिक पूर्वाधारको अवस्था पनि कमजोर रहेको छ । अहिले १८ नर्सको दरबन्दी रहे पनि २४ नर्स हुनुहुन्छ, तर पनि त्यतिले मात्रै पनि नपुग्ने उहाँको भनाइ छ । उहाँका अनुसार अहिले दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् । अस्पताललाई व्यवस्थित तरिकाले अगाडि बढाउने योजना रहेको उहाँको भनाइ थियो । त्यसअवसरमा राष्ट्रियसभा सदस्य वलीले दाङसहित, सल्यान, रोल्पा, रुकुम, बाँके, बर्दियालगायतबाट बिरामी आउने भएकाले यस अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डा उपलब्ध गराउन मन्त्रालयमा प्रस्ताव राख्ने र राष्ट्रियसभामा पनि आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । 

-रासस

प्रतिक्रिया