स्ववियु निर्वाचनको तयारीमा त्रिवि

admin

काठमाडौँ, ७ माघ: त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखसँग आज छलफल गरेको छ । 

शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफलमा तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुमा सुझाव प्रस्तुत गरिएको थियो । त्रिविले आउँदो फागुन १४ गतेका लागि निर्वाचन तोकेको छ । 

 

सो क्रममा उपकुलपति डा तीर्थराज खनियाँले उम्मेदवार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकाले यो निर्वाचनलाई नियमित प्रक्रियाका रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसलाई भएको बताउनुभयो । उहाँले मतदाता नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशील विद्यार्थी सङ्घसङ्गठनसँग निरन्तर संवाद गर्न क्याम्पस प्रमुखलाई आग्रह गर्नुभयो । 

-रासस

प्रतिक्रिया