बाजुरामा पछिलो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

कृष्ण रोकाया

मार्तडी, ८ माघ : बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हँुदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।

 

कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।

कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ ।

कार्यालयमा जग्गा लिएवापत महिला र दलितले रु दुई लाख ३४ हजार १२ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले रु दुई लाख २० हजार १५३ राजश्व छुट पाएका छन् ।

नागरिकता र मतदाता शिविर शुरु

जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लाको दक्षिणी क्षेत्रमा सोमबारदेखि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरेको छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका क्षेत्रमा कार्यालयले शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो ।

प्रशासन कार्यालयको आयोजना र बूढीगङ्गा नगरपालिकाको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो । बूढीगङ्गा नगरपालिकामा नागरिकता शिविर सोमबारदेखि सञ्चालन भएको छ । नागरिकता लिनका लागि जिल्लामा आउन नसक्ने, आर्थिक अभाव भएका, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालाई लक्षित गरी शिविरको आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबारदेखि बूढीगङ्गा नगरपालिकाको बडीमालिका क्याम्पसमा प्रजिअ बरालको नेतृत्वमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाका १६९ ले सेवा लिएको प्रजिअ बरालले बताउनुभयो ।

जिल्लाको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको कोल्टी र खप्तड छेडेदह गाउँपालिकामा पनि नागरिकता र मतदाता नामावली सङ्कलन शिविर सञ्चालन गरिएको थियो ।

वडाध्यक्षलाई एक हजार जरिवाना

मदिरा खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष भरत थापालाई रु एक हजार जरिवाना तिराएर हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आइतबार मदिरा खाएर होहल्ला र गालीगलौज गरेको भन्दै स्थानीयवासीले प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष थापालाई पक्राउ गरेको थियो । वडाध्यक्ष थापालाई सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराई मदिरा ऐनअनुसार सामान्य जरिवाना तिराएर छाडिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बूढीगङ्गा नगरपालिकामा नागरिकता वितरण शिविर सञ्चालन गरेको र नागरिकताका लागि वडाध्यक्षको सिफारिस अनिवार्य हुने भएकाले तत्काल जरिवाना तिराएर छाडिएको प्रहरी प्रमुख भाटले बताउनुभयो । रासस

प्रतिक्रिया