दमौली, ८ माघ : नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । न्यूनतम पारिश्रामिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ तनहँु शाखाको संयोजनमा आज यहाँ श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयको गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले न्यूनतम पारिश्रमिक उपलब्ध गराउन नसक्ने सञ्चारमाध्यमलाई राज्यले सुविधा रोक्नुपर्ने बताउनुभयो ।
पछिल्लो पटक रु पाँच करोड ३४ लाखको पत्रकार वृत्तिकोष स्थापना गर्न सरकारले रकम उपलब्ध गराएको हुँदा अध्यक्ष आचार्यले सरकारलाई धन्यवादसमेत दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले राज्यले निर्धारण गरेअनुसारको पारिश्रमिक उपलब्ध नगराउने सञ्चारमाध्यम कारवाहीको भागिदार हुने बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले न्यूनतम पारिश्रमिकसम्बन्धी अवधारणा नबुझेसम्म त्यसको कार्यान्वयनमा समस्या पर्ने बताउनुभयो ।
-रासस