नदीजन्य पदार्थको निकासी रोक्न अनुगमन गरिने

admin

खस्यौली, ८ माघ : प्रदेश नं ५ का विभिन्न जिल्लाका नदीबाट जथाभावी रुपमा भएको नदीजन्य पदार्थको चोरी तथा निकासी रोक्न अनुगमन गरिने भएको छ । प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिको आज बसेको बैठकले केही दिनभित्रै अनुगमन शुरु गर्ने निर्णय गरेको छ । प्रदेशको दाङस्थित कालाकाटे, कपिलवस्तुको बाणगङ्गा नदी, रुपन्देहीका विभिन्न स्थानबाट नदीजन्य पदार्थको चोरी निकासी हुँदै आएको छ ।

समितिका सभापति दधिराम न्यौपानेले अनुगमन रुपन्देहीबाट शुरु हुने जानकारी दिँदै विभिन्न जिल्लाबाट भइरहेका चोरी निकासी तत्काल रोक्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले जिल्ला समन्वय समिति वा स्थानीय तहको कुन निकायबाट नदीजन्य पदार्थ र माटोको उत्खनन भएको सम्बन्धमा तीन दिनभित्र कागजात झिकाउने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।

उहाँले नदीजन्य कार्यविधि २०७५ लाई उल्लङ्घन गरेर नदीजन्य पदार्थ र माटोको उत्खनन भएको उल्लेख गर्दै जथाभावी रुपमा भएको उत्खनन रोक्न अनुगमन तथा नियमनको प्रयास हुन लागेको बताउनुभयो । समितिका सदस्य कृष्ण न्यौपानेले नदीजन्य पदार्थबाट कर असुलीमा चुहावट भएको उल्लेख गर्दै व्यवस्थित ढङ्गबाट कर असुुली नभएको उल्लेख गर्नुभयो ।

समितिका सदस्य वसन्त घर्तिमगरले नदीजन्य पदार्थको चोरी निकासीमा ठूलो गिरोह संलग्न रहेको उल्लेख गर्दै यसको रोकथाम सबैको साझा विषय भएको बताउनुभयो । समितिका सदस्य अमरबहादुर डाँगीले चोरी निकासी भएका जिल्लामा मात्रै अनुगमन हुनुपर्नेमा जोड दिनुभयो । समितिकोे बैठकले प्रदेश सरकारलाई नदीजन्य पदार्थ र माटोको अवैध उत्खनन कार्य रोक्न निर्देशन दिएको छ । समितिको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरी सो सम्बन्धमा जानकारी लिने निर्णय गरेको छ ।

समितिका सदस्य तुलसी चौधरी रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ स्थित धनौरामा हुने भनिएको माटोको उत्खनन रोक्न सम्बन्धित इन्जिनीयरसँग स्पष्टीकरण सोध्नुपर्नेमा जोड दिँदै व्यक्तिगत लाभका आधारमा इञ्जिनीयरले बदमासी गरेको हुन सक्ने जिकिर गर्नुभयो । उहाँले स्थानीयवासी श्याम विहारी पाण्डेयको जग्गा उत्खनन गर्न लागेको जानकारी दिँदै कतिपय स्थानमा पाँच फिटको अनुुमति लिएर २० फिट जग्गा उत्खननको काम भएको बताउनुभयो ।
-रासस

प्रतिक्रिया