सेनाको पूर्वजर्नेल हुँ भन्दै ठगी गर्ने पक्राउ

admin

काठमाडौँ, ८ माघ :सेनाको पूर्वजर्नेल हुँ भन्दै विभिन्न प्रलोभनमा रकम ठगी गर्दै आएका एक व्यक्तिलाई काठमाडौँको पुरानो बानेश्वरस्थित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ । पीडितको लिखित उजुरीको आधारमा रकम ठगी गर्दै आएका काठमाडौँ भाटभटेनीका मदनजङ्ग शाहलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको काफ्लेले बताउनुभयो । पीडितले दिएको जाहेरीमा उनले सेनाको पूर्वजर्नेल आदित्यबहादुर शाह हुँ भन्दै शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएसको आरक्षण कोटामा नाम निकालिदिने र जग्गा नापीमा परेको समस्यासमेत समाधान गरिदिने प्रलोभनमा रकम ठगी गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

“अहिलेसम्म रु ११ लाख ठगी भएको खुल्न आएको छ”, प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो । अझै पीडित सम्पर्कमा आउने क्रम जारी छ । उद्योग मन्त्रालयको अस्थायी पासमा आदित्यबहादुर शाह उल्लेख भएको र त्यही नाममा उनको भिजिटिङ कार्डसमेत फेला परेको छ । सवारीचालक अनुमतिपत्रमा भने उनको नाम मदनजङ्ग शाह उल्लेख रहेको प्रहरीले जनाएको छ । काठमाडौँमा मात्रै नभई उनले सिन्धुलीमा समेत गएर ठगी गरेको अनुसन्धानमा खुलेको छ । प्रायः होटलमा बोलाएर उनले गठीधन्दा चलाउने गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया