बनियानी, १३ माघ : झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ ।
तेस्रो देशमा पुनःस्थापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५ को १० कठ्ठा जमीनमा रु ९४ लाखको लागतमा सो बगैँचा निर्माण हुन लागेको हो । सो क्षेत्रमा विसं २०४८ देखि २०६८ सम्म भुटानी शरणार्थीले बसोवस गरेका थिए ।
उक्त बगैँचा सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । ‘ बगैँचाका लागि प्रदेश सरकारले यस पटक रु १० लाख प्रदान गरेको छ’, उहाँले भन्नुभयो, “नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित समयमै बगैँचा निर्माण गरिने छ ।”
भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएपछि सो क्षेत्रको सरकारको पर्यापर्यटन नीतिअनुरुप पर्यटकीय स्थल बनाउन लागिएको नगरप्रमुख रानाले बताउनुभयो ।
दुई सय मिटर लम्बाइ, १६० मिटर चौडाइको सो बगैँचाका लागि इञ्जिनीयर लोकबहादुर तामाङले लागत इस्टिमेट तयार पार्नुभएको हो । बगैँचाको बीचमा पोखरी र त्यसमा चार वटा पुल, स्मृति स्तम्भलगायत पूर्वाधार निर्माण गर्नाका साथै शरणार्थीको इतिहास नेपाली र अङ्ग्रेजी दुबै भाषामा लिपिबद्ध गरेर राखिने जनाइएको छ । रासस