तालिबान वार्ताबारे अफगान सरकारलाई जानकारी

मनिषा थापा

काबुल, १४ माघ : अफगानिस्तानको राष्ट्रपतिको कार्यालयलाई अमेरिकी विशेषदूत जाल्मे खलिलजादले कतारमा तालिबान विद्रोही समूहसँग भएको हालैको वार्ताबारे जानकारी गराउनु भएको जनाएको छ ।

विशेषदूत खलिलजादले वार्ताको प्रगतिका बारेमा राष्ट्रपति अस्रफ घानी र अरु अफगान सरकारी अधिकारीलाई जानकारी गराउनुभएको जनाइएको छ ।

राष्ट्रपतिको कार्यालयले तालिबानसँग युद्धबिराम गर्ने बारेमा वार्ता केन्द्रित भएको जनाएको छ तर उक्त विषयमा अझै केही प्रगति भएको छैन । विदेशदूत खलिलजाद वा अमेरिकी दूतावासले अफगान राष्ट्रपतिको कार्यालयको टिप्पणीप्रति केही उल्लेख गरेको छैन ।

तालिबानसँगको वार्तामा महत्वपूर्ण प्रगति भएको भनी अमेरिकी विशेषदूतले गत साता बताउनुभएको थियो, तर राष्ट्रपतिको कार्यालयले उक्त दाबीप्रति सचेततापूर्वक प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति घानीले अफगान सरकार र तालिबानबीच मध्यस्थता गराउन अमेरिकी विशेषदूतले गर्नुभएको प्रयत्नप्रति धन्यवाद दिँदै आभार व्यक्त गर्नुभएको पनि राष्ट्रपतिको कार्यालयले जनाएको छ । तालिबानले अफगान सरकारसँग नभई अमेरिकी प्रतिनिधिसँग मात्र वार्ता गर्ने अडान राख्दै आएका छन् । (रासस/एपी)

प्रतिक्रिया

सम्बन्धित समाचारहरू