यो कस्तो अचम्मको खेल, जित्ने विजेतालाई लैनो भैँसी पुरस्कार !

मनिषा थापा

इनरुवा, १५ माघ (रासस) : सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न ‘भैँसी सुन्दरी प्रतियोगिता’का विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । 



कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिनुभएको हो । उहाँले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गर्नुभएको थियो । 

प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए । सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिताको अवधारणा पहिलो पटक इनरुवा नगरपालिकाले ल्याएको हो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले भैँसी कोशी गाउँपालिकामा आयोजित भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा भैँसी सुन्दरीसहित गाई सुन्दरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका गाईधनीलाई नगदसहित सम्मान गरिएको थियो । 


प्रतिक्रिया