काठमाडौँ, १७ माघ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले महिलाका लागि बनाइएका कानून कार्यान्वयन भइरहेको बताउनुभयो । हिमालयन लयर्सले ओमन याक्टको सहकार्यमा आज आयोजना गरेको राष्ट्रिय नीतिगत संवादमा ‘नागरिकता र महिलाको कानूनी अधिकार’ विषयक कार्यक्रममा मन्त्री ढकालले महिलाको हितका लागि थप कानून बनिरहेको जानकारी दिनुभयो ।
“महिलाका लागि बनेको कानून कार्यान्वयनका लागि मन्त्रालय सकारात्मक छ”, उहाँले भन्नुभयो । आफ्नो अधिकारप्राप्तिका लागि महिला आफैँ अगाडि आउनुपर्नेमा उहाँको भनाइ थियो । गृह मन्त्रालयका सहसचिव डा नारायण दवाडीले कानूनमा महिलाका हकअधिकारलाई स्पष्ट नपारिएका कारण थप समस्या देखिएको बताउनुभयो । महिलाको नागरिकताको अधिकारलाई सुनिश्चित पार्न गृहमन्त्रालय सधैँ सकारात्मक रहेको उहाँले बताउनुभयो ।
संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले कुनै पनि देशमा राज्यविहीन अवस्था नरहोस् भन्नका लागि नागरिकताको व्यवस्था गरिएकाले आमाको नामबाट छोराछोरीले नागरिकता पाउनका लागि नेपालको संविधानअनुरुप कार्यान्वयनमा ल्याउन कठिनाइ भएको बताउनुभयो । नेपालको संविधान निर्माणका क्रममा अंश र वंशको विषय जटिल बनेको उहाँको भनाइ थियो । हिमालयन लयर्सकी शशिकुमारी अधिकारीले विवाहपछि नै छोरा र छोरीमा हुने विभेदले महिलाको अधिकारलाई लत्याएको प्रष्ट्याउनुभयो । “नेपाली समाजले महिलाको विवाहको अधिकारलाई समेत कुण्ठित बनाएको छ”, उहाँले भन्नुभयो ।
नागरिकता बनाउन जानेक्रममा बाबुविनाका छोराछोरीले आमाको नामबाट नागरिकता लिन खोज्दा जिल्ला प्रशासन कार्यालयबाट थप पीडा पाउनुपर्ने अवस्था नेपालमा रहेको उहाँले औँल्याउनुभयो । कार्यक्रममा विभिन्न कानून व्यवसायीले आमाका नामबाट नागरिकता लिन के–कस्ता कदम चाल्नुपर्छ भनी सुझाव प्रस्तुत गरेका थिए ।
-रासस