रामेछाप राष्ट्रिय भलिबल मङ्गलबारदेखि

admin

काठमाडौँ, १८ माघ : चौथो संस्करणको रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिबल प्रतियोगिता ‘रामेछाप सिभिल च्याम्पियनशिप’ मङ्गलबारदेखि शुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकूद विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही माघ २२ देखि २६ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । सदरमुकाम मन्थलीमा हुने प्रतियोगितामा सात प्रदेश र पाँच क्लबले प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष पुरुषोतम कडरियाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रदेश १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ । यस्तै शान्तिदीप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकूद सङ्घ, नमूना दीप युवा क्लब र प्याराडाइज युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुनेले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोकृष्ट खेलाडीले रु १५ हजार तथा व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले समान रु १०÷१० हजार पाउनेछन् । प्रतियोगितामा तीन विदेशी खेलाडीसमेत राख्न पाउने आयोजकले जनाएको छ ।
-रासस

प्रतिक्रिया