व्यावसायिक वातावरण निर्माणमा सरकार लागेको : पूर्वप्रधानमन्त्री खनाल

admin

काठमाडौँ, १९ माघ: पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा व्यावसायिक वातावरण निर्माणका लागि सरकार लागेको बताउनुभएको छ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको ‘पाँचौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकमा राजनीतिक मुद्दा समाप्त भएकाले अब आर्थिक विकास आवश्यक छ ।” 

पूर्वप्रधानमन्त्री खनालले मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास हुनु जरुरी रहेको उल्लेख गर्दै संविधानले उद्योगी व्यापारीको हकलाई समेटेको बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि आवश्यक ऐन कानून निर्माणमा सरकार लागेको बताउँदै उहाँले मुलुकको विकासका लागि कृषि, पर्यटन र जलस्रोतमा विशेष ध्यान दिनु जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

 

उद्योग विभागका निर्देशक जीवन सेढाईंले उद्योग, व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि राज्यको पूर्ण सहयोग रहने बताउनुभयो । “औधोगिक व्यवसाय ऐन आए पनि नियमावली र कानून नबन्दा समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले राज्यलाई कर तिरेर आफ्नो व्यवसाय सञ्चालन गर्दा पनि मुलुक उद्योग र व्यवसायमैत्री हुन नसकेको बताउनुभयो । 

 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्वअध्यक्ष सुरेश प्रधानले मुलुकको व्यापार घाटा कम गर्न सरकारले उद्योग क्षेत्रमा लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ, सिभिल मल व्यापार सङ्घका अध्यक्ष विजयकुमार महर्जन, कोटेश्वर व्यापार सङ्घका अध्यक्ष सरोजकुमार थापालगायतले मुलुक आयतमुखी नभई उद्योगमुखी हुनुपर्ने बताउँदै उद्योग सञ्चालनका क्रममा रहेका अस्पष्ट कानूनलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । 

 

विसं २०७० मा स्थापना भएको सङ्घमा हाल झण्डै २०० उद्योगी व्यवसायी संलग्न रहेको सङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो । उहाँले उद्योग मन्त्रालयमा साना उद्योग व्यवसायीको पहुँच नपुगेको गुनासो गर्नुभयो । 

-रासस

 

प्रतिक्रिया