तीन सय पेटी मदिरा बरामद

कृष्ण रोकाया

अछाम, २० माघ : साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको रु दुई लाख मूल्य बराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । माघ १८ गते बेलुका साफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय युवा, व्यापारी र सरोकारवालाको पहलमा मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक असई मदन धामीले जानकारी दिनुभयो । साँफेबगरको पन्त जनरल स्टोरबाट चौरपाटीतर्फ लैजाँदै गरेको सो मदिरा सबै सरोकारवालाको रोहवरमा आज नष्ट गरिने जनाइएको छ । ओसारपसारमा संलग्न ट्याक्टरलाई भने नियमअनुसार रु पाँच हजार जरिवाना गरी छाडिएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय अछाम प्रहरीले जिल्लाभरि नै कमसल, अवैध र घरेलु मदिरा नियन्त्रण कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । जताततै पाइने कमसल र घरेलु मदिराका कारण समाजमा विभिन्न अराजक क्रियाकलाप बढेको भन्दै प्रहरीले सक्रियता बढाएको र यसमा सबै जनप्रतिनिधि र सरोकारवालाको सहयोग रहेको प्रहरीको भनाइ छ ।

सुन कर्जा शुरु

राष्ट्रिय वाणिज्य बैंक अछाम शाखाले सुन धितोमा कर्जा प्रवाह शुरु गरेको छ । १७ वर्षदेखि रोकिएको सुन कर्जा पुनः सञ्चालन गरिएको शाखाले जनाएको छ । विसं २०५८ मा अछाम आक्रमणको बेला बैंक ध्वस्त भएसँगै असुरक्षाका कारण हालसम्म सुन धितोमा हुने कर्जा प्रवाह कार्य रोकिएको थियो । अछाम आक्रमणपछि ढुकुटी नेपाली सेनाको संरक्षणमा राख्नु पर्दा कर्जा प्रकिया रोकिएको वाणिज्य बैंक मङ्गलसेन शाखाका प्रबन्धक गणेशबहादुर विष्टले बताउनुभयो ।

बाणिज्य बैंकको ढुकुटी नेपाली सेनाको क्याम्पमा राख्नुपर्ने बाध्यता हटेसँगै सुन कर्जाको काम शुरुआत गरिएको उहाँको भनाइ छ । बैंकले नियमअनुसार सुनको जम्मा मूल्यको ७० प्रतिशत रकम १२ प्रतिशत ब्याजमा लगानी गर्ने व्यवस्था रहेको प्रबन्धक विष्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया