बयालीस किलो गाँजासहित तीन सार्वजनिक

पूजा बानियाँ

सप्तरी, २० माघ : हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित गोबरगाढाबाट ४२ किलो गाँजासहित पक्राउ परेका तीन जनालाई आज सशस्त्र प्रहरीले सार्वजनिक गरेकोे छ ।

बरामद गरिएको गाँजासहित भारत विहार सुपौलका ६५ वर्षीय उदय मुखिया, हनुमाननगर कङ्कालिनी १४ का ५६ वर्षीय हीरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका र उनीहरूलाइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएकामा आज आयोजित पत्रकार सम्मेलनमा सो घटना सार्वजनिक गरिएको हो ।
गाँजा भारततर्फ तस्करी गर्न लागिरहेको बेला सशस्त्र प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भए पनि कोही घाइते नभएको तर घेरामा परेका उनीहरूलाई पक्राउ गरेर ल्याइएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले बताउनुभयो

पक्राउ परेकाले आफूहरुलाई एकपटक गाँजा ओसारेबापत दुई हजार दिने गरेको र पु¥याउने ठाउँबारे थाहा भए पनि कहाँबाट ल्याइएको थाहा नभएको उनीहरूले बताएकाले मुख्य तस्कर पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

नेपाली बजारभन्दा भारतीय बजारमा गाँजाको मूल्य तीन गुणा बढी भएकाले व्यापक रुपमा गाँजा ओसारपसार हुने गरेको पक्राउ पर्नेहरुबाट बुझिएको हो भन्दै सशस्त्र प्रहरी उपरीक्षक थापाले तस्करको राम्रो सञ्जाल र सुरक्षा टोली भएकाले गाँजा ओसारपसारको स्रोतको खोजीका लागि पनि प्रहरीले सीमा नाकामा कडाइ गरेकोे बताउनुभयो । रासस

प्रतिक्रिया