चीनबाट निरन्तर सहयोगको प्रतिबद्धता

admin

काठमाडौँ, २० माघ: नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुनःनिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त भएको छ । नेपालका लागि चीनका राजदूत हउ यान्छीले अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा भेटेर त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य साकार पार्न चीनले सघाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न चाहेको बताउनुभयो । 

चिनियाँ राजदूतले आगामी चैत १५ र १६ गते नेपालमा हुने लगानी सम्मेलनमा धेरैभन्दा धेरै चीनका लगानीकर्तालाई सहभागी गराउन प्रयास हुने जानकारी दिनुभयो । चिनियाँ राजदूतले आफ्नो देशको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका आयोजनामा प्रयोग हुने सामग्रीमा कर छुटको व्यवस्था गर्न आग्रह गर्दै निर्धारित समयमा ती आयोजना पूरा गर्न नेपाल सरकारका मन्त्रालय र निकायबाट समन्वय र सहयोगको वातावरण बन्नेमा आफू ढुक्क रहेको बताउनभुयो । 

 

प्रत्युत्तरमा मन्त्री खतिवडाले चीनसँग सीमा जोडिएका व्यापारिक नाका सञ्चालन भएमा नेपालको पूर्वाधार निर्माणमा सहयोग पुग्ने वास्तविकता सुनाउँदै दुई देशबीचमा हुने अनौपचारिक व्यापारलाई औपचारिक रुपमा रुपान्तरण गर्न जोड दिनुभयो । नेपाल र चीनबीच भएका व्यापारिक सम्झौतालाई समयसापेक्ष परिमार्जन र सुधार गर्न आवश्यक भएको बताउँदै अर्थमन्त्रीले चिनियाँ बैंकका शाखा नेपालमा विस्तारका निम्ति प्रयास गर्न अनुरोध गर्नुभयो । 

-रासस

प्रतिक्रिया