कोरियाबाट आगलागी पीडितलाई आर्थिक सहयोग

कृष्ण रोकाया

गलेश्वर, २१ माघ : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका आगलागी पीडित भूपेन्द्रबहादुर खड्कालाई कोरियाबाट रु ४५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । मातृभूमि सेवा समाज कोरियाका सहसचिव खिमबहादुर खड्काको पहलमा शाखाले रु ४५ हजार सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पीडित परिवारलाई घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । माघ ११ गते शुक्रबार विद्युत् ‘सर्ट’ भई आगलागी हुँदा एक्सिलेन्ट भ्यू लज एण्ड रेष्टुरेन्ट सञ्चालन गरिएको एकतले, पाँचकोठे घर पूर्णरूपमा जलेर नष्ट हुँदा करीब रु २० लाख बराबरको क्षति भएको थियो ।

बालबालिकाको स्वास्थ्य जाँच

पश्चिम म्याग्दीको धौलागिरि गाँउपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच गरिने भएको छ । गाउँपालिकाको आयोजना र गुड नेवर्स इन्टरनेशनल नेपालअन्तर्गतको संस्था कदम म्याग्दीको सहकार्यमा हिजो आइतबारदेखि २३ गतेसम्म गाँउपालिकाभित्रका विद्यायलमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच शुरु गरिएको हो ।

गाउँपालिका भित्रका २८ विद्यालयका बालबालिकाका लागि स्वास्थ्यकर्मीको टोली सम्बन्धित विद्यालयमा नै पुगेर स्वास्थ्य जाँच गरिरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

स्वास्थ्य जाँचका लागि एउटा स्वास्थ्य चौकीलाई चार विद्यालयको जिम्मा दिइएको छ । गाउँपालिकामा सात स्वास्थ्य संस्था रहेका छन् । गाउँपालिकाभित्र रहेका सात स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको वडामा रहेको विद्यालयमा पुगेर सेवा दिने गरी कार्य विभाजन गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

गाउँपालिकाभित्रका २८ विद्यालयमा तीन हजार ७०१ विद्यार्थी अध्ययनरत छन् । ती मध्ये एक हजार ९१० छात्रा र एक हजार ७९१ छात्र रहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू