सङ्घीयता संस्थागत गर्न ढिलाइ– काङ्ग्रेस नेता सिंह

admin

काठमाडौँ, २१ माघ : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता संस्थागत गर्ने कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । काङ्ग्रेसको काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उहाँले सङ्घीयताका लागि आवश्यक कानून निर्माण गरी जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई सुझाव दिनुभयो । नेता सिंहले प्रतिपक्षी दलका नेताको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक बसेर गरिएका निर्णय संविधान र कानून विपरीत भएको जिकिर गर्नुभयो । 

सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्बाट जबर्जस्ती पारित गरेको आरोप लगाउँदै उहाँले चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि काङ्ग्रेसले अभियान जारी राख्ने बताउनुभयो । सो अवसरमा काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढेको, महङ्गीले बढेको, चिनी काण्ड, सुन काण्ड जस्ता घटना घटेको र मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध हुँदासमेत समाधानका लागि सरकारले ठोस काम गर्न नसकेको टिप्पणी गर्नुभयो । 

 

अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सत्तापक्षले परराष्ट्र सम्बन्धमा राष्ट्रिय हितभन्दा पार्टीको हितमा काम गरेको आरोप लगाउँदै मुलकमा भ्रष्टाचार बढेको टिप्पणी गर्नुभयो । पूर्वसभामुख तारानाथ रानाभाटले सरकारका गलत कार्यको निन्दा गर्दै सजग गराउन पार्टीले विरोध प्रदर्शन गरेको बताउनुभयो । कार्यक्रममा सांसदद्वय भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीले सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको र भ्रष्टाचारका आरोपीलाई कारवाहीका लागि आवश्यक तदारुकता नदेखाएको आरोप लगाउनुभयो । 

 

काठमाडौँ काङ्ग्रेसका सभापति कृष्ण बानियाँ ९सबुज० र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागार्इंले सरकारले प्रतिपक्षी दलप्रति निषेधको राजनीति गरेको आरोप लगाउँदै सरकारलाई गलत कार्य गर्नबाट रोक्न पार्टीले खबरदारी गरिरहने बताउनुभयो । सभाअघि विभिन्न नारासहितको जुलुशले नगर परिक्रमा गरेको थियो । 

-रासस

प्रतिक्रिया