काठमाडौँ, २२ माघ (रासस) : बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्नुभयो ।
भेटका अवसरमार दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको बहराइनको मनामास्थित नेपाली दूतावासले जनाएको छ । आइतबार भएको भेटमा अध्यक्ष जइनलले नेपालसँगको सम्बन्ध थप मजबुत र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सोही अवसरमा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्ध थप उचाइमा पु¥याउन सरकारी तथा सांसद तहमा समेत द्विपक्षीय सम्बन्ध संयन्त्र बनाई अगाडि बढ्न प्रस्ताव गर्नुभयो ।
अध्यक्ष जइनलले आगामी दिन राजनीतिक नेतृत्व तहमा सम्बन्ध विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने बताउँदै नेपाली कामदारको सीप, लगनशीलता र इमानदारिताको प्रशंसा पनि गर्नुभयो । राजदूत सुन्दासले गल्फ एयरको सिधा उडान सञ्चालन गर्न सकिए दुई देशबीचको व्यापारिक, पर्यटन तथा साँस्कृतिक सम्बन्ध थप दरिलो हुने विश्वास व्यक्त गर्नुभयो ।