विद्यालयका शौचालय प्रयोगविहीन

मनिषा थापा

– करन ताम्राकार

अमरगढी, २२ माघ (रासस) : डडेल्धुरा जिल्लाका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानीको अभावमा प्रयोगविहीन भएका छन् । विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको जिल्लास्थित सरोकारवालाले जनाएको छ ।


पिउनका लागि एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेको अवस्थामा शौचालयमा पानीको व्यवस्था हुन नसक्दा विद्यार्थीको पठनपाठन समेत प्रभावित बनेको विद्यार्थीहरु बताउँछन् । खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु, शम्भुनाथ निमावि छचोडाका विद्यार्थी रमेश ताम्राकारले दुखेसो पोख्नुभयो ।

पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु मणिलेक आधारभूत नवदुर्गा–१ निन्तोला लक्ष्मीकुमारी बोहराले पनि समस्या राख्नुभयो । खोलामा पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्छ, आधा घण्टाभित्र पढाइ छुट्छ वीरबलभद्र मावि मैदेका विद्यार्थी ममता विक बताउनुहुन्छ । विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भएको भए पनि पानी बोक्नुपर्ने बाध्यता रहेकोप्रति विद्यार्थी लक्ष्मण रैकालले दुःख व्यक्त गनुभयो ।

लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा डडेल्धुरालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको नाममा मात्र सीमित भएको छ । सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ, नवदुर्गा–१ का स्थानीय मोहन बोहराले भन्नुभयो । तीन वर्ष पहिले नै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको भएपनि निर्माण गरिएका शौचालय पानीको अभावमा प्रयोगविहीन हँुदा समस्या चुलिँदै गएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक विस्तार

डडेल्धुरा जिल्लाका सात वटा स्थानीयतहमा सडक विस्तारमा होडबाजी चलिरहेको छ । स्थानीय तहको निर्वाचनपश्चात् डडेल्धुरा जिल्लाका सबै स्थानीय तहमा पहिलो प्राथमिकतामा सडक निमार्णलाई रहेको देखिन्छ । सबै स्थानीय तहले सबै गाउँ बस्ती वडामा सडक सञ्जाल जोड्ने योजनासहित डडेल्धुराका स्थानीय तह अहिले धमाधम सडक खन्ने योजनामा अगाडि बढेका देखिन्छन् ।

डडेल्धुरा जिल्लाका कुन स्थानीय तहले कति कसरी सडक खन्दै छन् । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाले यस आर्थिक वर्षभित्र साना ठूला गरी २४ वटा सडक निर्माण योजना अगाडि बढाएको छ । सडक निर्माणका लागि करीब रु छ करोड रकम विनियोजन गरेको छ ।

हालसम्म पर्शुराम नगरपालिकाले २४ किलोमिटर सडक खन्ने योजनाअनुसार आठ किलोमिटर सडक खन्ने काम सम्पन्न भएको पर्शुराम नगरपालिकाका कार्यकारी अधिकृत इश्वरलाल शाक्लले जानकारी दिनुभयो । दुई वटा सडकमा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन गरी काम शुरु भएको जनाएको छ ।

पर्शुराम नगरपालिकाले निर्माण गर्दै गरेका २४ वटा सडकमध्ये नौलानाइल बुडर सडक र सिमलबण्डा सडकखण्डलाई वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र सडक निमार्ण भइरहेको र अन्य सडक विस्तारमा पनि सडक क्षेत्रमा परेका रुखलाई नकाटी सडक निर्माण भइरहेको पर्शुराम नगरपालिकाका इञ्जिनीयर नरेन्द्र भाटले जानकारी दिनुभयो । नगरपालिकाको आफ्नै जेसिबी प्रयोग गरेर काम गरिरहेको बताउनुभयो ।

डडेल्धुरा जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले यस आवभित्र साना ठूला गरी ५० सडक निर्माण योजना अगाडि बढाएको छ । सडक निर्माणका लागि झण्डै रु १९ करोड रकम विनियोजन गरेको छ । हालसम्म अमरगढी नगरपालिकाले नयाँ ३० किलोमिटर सडक खन्ने योजना खन्ने काम शुरु गरिरहेको अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिनुभयो ।

चारवटा सडक कालोपत्रे ३० वटा नयाँ ट्याक र १३ वटा सडकको स्तरोन्नति गर्ने कामका साथ अमरगढी नगरपालिका नगर प्रमुख ओझाले जानकारी दिनुभयो । अजयमेरु गाउँपालिका कार्यालय डडेल्धुराले यस आवभित्र ३५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

नेपाल सरकारकोे अनुदानबाट प्राप्त बजेट रु चार करोड ८५ लाख बजेट खर्च हुने जनाएको छ । पाँच वटा सडक निर्माण प्रक्रियामा रहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो । हालसम्म डोजर भाडामा प्रयोग भइरहेको बताउनुभयो र डोजर प्रयोगबापत गाउँपालिकाले रु ८० लाख भुक्तानीसमेत गरिसकेको जनाएको छ ।

नवदुर्गा गाउँपालिका कार्यालय डडेल्धुराले यस आवभित्र २० किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको जनाएको छ । नेपाल सरकारकोे अनुदानबाट प्राप्त बजेट रु तीन करोड १५ लाख बजेट खर्च हुने जनाएको छ । २० वटा सडक सडक निर्माण प्रक्रियामा रहेको नवदुर्गा गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले बताउनुभयो ।

हालसम्म डोजर भाडामा प्रयोग भइरहेको बताए र डोजर प्रयोगबापत गाउँपालिकाले रु एक करोड ८० लाख भुक्तानीसमेत गरिसकेको जनाएको छ । तर सडक विस्तारका क्रममा थुप्रै रुख काटिएका छन् । भागेश्वर गाउँपालिका कार्यालय डडेल्धुराले यस आवभित्र ३५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

नेपाल सरकारकोे अनुदानबाट प्राप्त बजेट रु दुई करोड ९५ लाख बजेट खर्च हुने जनाएको छ । २० वटा सडक सडक निर्माण प्रक्रियामा रहेको नवदुर्गा गाउँपालिका अध्यक्ष कौशिल्ला भट्टले बताउनुभयो । हालसम्म डोजर भाडामा प्रयोग भइरहेको बताउनुभयो र डोजर प्रयोगबापत भुक्तानी दिनु बाँकी रहेको बताउनुभयो तर सडक विस्तारका क्रममा थुप्रै रुख काटिएका र यकिन तथ्याङ्क नभएको बताउनुभयो ।

आलिताल गाउँपालिकाले कार्यालय डडेल्धुराले यस आवभित्र २५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको जनाएको छ । नयाँ १० वटा सडक निर्माण प्रक्रियामा रहेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताउनुभयो । गाउँपालिकाले डोजर प्रयोगबापत प्रयोग गरेर सडक विस्तारको अभियानमा लागि रहेका आलिताल गाउँपालिकाले जनाएको छ ।

गन्यापधुरा गाउँपालिका कार्यालय डडेल्धुराले यस आवभित्र ३० किलोमिटर सडक निर्माण कार्य सम्पन्न गर्ने योजनासहित अगाडि बढिरहेको बताएको छ । नेपाल सरकारकोे अनुदानबाट प्राप्त बजेट खर्च हुने जनाएको छ । २० वटा सडक सडक निर्माण प्रक्रियामा रहेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलसिंह मल्लले बताउनुभयो ।

हालसम्म डोजर भाडामा प्रयोग भइरहेको बताउनुभयो र डोजर प्रयोगबापत गाउँपालिकाले सडक विस्तारमा लागिरहेको बताउनुभयो । गन्यापधुरा गाउँपालिका पाँचवटै वडाको सबै बस्तीसम्म सडक सञ्जाल पु¥याउने योजनासहित गाउँपालिका अगाडि बढिरहेका गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया