अमेरिकी प्रतिनिधि उत्तर कोरिया भ्रमणमा

मनिषा थापा

वासिङ्टन, २२ माघ (रासस/योनहाप) : उत्तर कोरियाका लागि अमेरिकी विदेशदूत स्टेफन बाइगनले उत्तर कोरिया–अमेरिका शिखर बैठकको तयारीका सम्बन्धमा छलफल गर्न बुधबार प्योङयाङको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता कीम जङ–उनबीच यसै महिना दोस्रो शिखर बैठक हुने सम्भावना छ ।

 

अमेरिकी विदेश मन्त्रालयका अनुसार विशेषदूत बाइगन बुधबार सियोल हुँदै उत्तर कोरिया प्रस्थान गर्नुहुनेछ । उहाँले प्योङयाङमा उत्तर कोरियाली नवनियुक्त समकक्षी कीम ह्योक–चोनसँग भेटवार्ता गर्नुहुनेछ । नवनियुक्त कीम यसअघि उत्तर कोरियाका लागि स्पेनको राजदूत हुनुहुन्थ्यो ।

दुबैबीच राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको दोस्रो शिखर बैठकका बारेमा छलफल गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । दुई कुटनीतिक व्यक्तित्वबीच गत वर्ष जुनमा सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीच भएका सहमतिहरुको कार्यान्वयन प्रगतिका बारेमा पनि छलफल हुनेछ ।

विदेश मन्त्रालयको वक्तव्यमा दुबै शीर्ष नेतृत्वबीच भएको उत्तर कोरियामा पूर्ण आणविक निःशस्त्रीकरण गर्ने, द्विपक्षीय सम्बन्धलाई रुपान्तरण गर्ने तथा कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्ने विषयलाई अमेरिकाले उच्च महत्व दिएको उल्लेख छ ।

बाइगन दक्षिण कोरियाली अधिकारीहरुसँग छलफल गर्न आइतबार सियोल पुग्नुभएको थियो । आगामी दोस्रो शिखर बैठकमा उत्तर कोरियाको आणविक अस्त्र एवं ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम पूर्ण रुपमा बन्द गर्नेबारेमा ठोस सहमति हुने दुबै पक्षले अपेक्षा गरेका छन् ।

यद्यपी, दोस्रो शिखर बैठकको स्थान र मिति भने सार्वजनिक गरिएको छैन, तर भियतनामले दा नाङ वा हनोईमा शिखर बैठक गर्नेबारेमा प्रस्ताव गरेको छ ।

प्रतिक्रिया