दक्षिण सोमालियामा अल–सबाबका ४० जना लडाकू मारिए

मनिषा थापा

मोगादिशु, २२ माघ (रासस/सिन्ह्वा) : सोमाली राष्ट्रिय गुप्तचर निकाय (नीसा) को कारबाहीमा दक्षिणी सोमालियामा अल–सबाब विद्रोही समूहका ४० जना लडाकू मारिएको नीसाले जनाएको छ ।

नीसाका अनुसार शनिबार शाबेले क्षेत्रको फार्सोले गाउँमा सुरक्षा फौजले गरेको व्यापक कारबाहीमा अल–सबाबका लडाकूहरु मारिएका हुन् । सरकारी सैन्य फौजले सोमालियाको मध्य र दक्षिणी क्षेत्रमा अल–कायदासँग निकट सम्बन्ध रहेको अल–सबाब विरुद्ध जबर्जस्त कारबाही गरिरहेको छ ।

यही आतङ्ककारी समूहले सोमबार राजधानी मोगादिशुमा कार बम विस्फोट गराउँदा कम्तीमा १२ जना मारिनुका साथै अरु सयौं घाइते भएका थिए ।

अफ्रिकी युनियनको सहयोगमा सोमाली सेनाले गरेको कारबाहीमा अल–सबाब समूहलाई अगष्ट २०११ मा मोगादिशुबाट बाहिर लखेटेको थियो । तर उक्त समूहले दक्षिण सोमालियाको धेरै भूभागमा अझै पनि नियन्त्रण गरिरहेको छ ।

प्रतिक्रिया