प्रधानमन्त्री ओली समक्ष प्रतिवेदन पेश

admin

काठमाडौँ, २२ माघ: प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री समक्ष केन्द्रका सचिव विष्णु ओमवादेले १६ औँ वार्षिक प्रतिवेदन बुझाउनुभयो । वार्षिक प्रतिवेदनमा केन्द्रमा परेका एक हजार २३९ मध्ये ९०३ उजुरी फछ्र्योट गरिएको उल्लेख गरिएको छ ।

तीमध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका १५८, सम्बन्धित निकायमा पठाइएका ४३ र अन्य तामेलमा भएका ७०२ रहेका छन् । केन्द्रले राष्ट्रिय गौरवका १८ र अन्य आयोजनातर्फ १८ वटाको प्राविधिक परीक्षणसमेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रले एक हजार १४० वटा सरकारी कार्यालयको अनुगमन गरी समय पालना नगर्ने, समयमा कार्यालय नआउने दुई हजार ३७७ जना कर्मचारीले कारवाहीका लागि सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानले जानकारी गराउनुभयो ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने १९ हजार १३४ जना सार्वजनिक पद धारण गरेका पदाधिकारी र सरकारी कर्मचारीलाई कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको उल्लेख गरिएको छ । वार्षिक प्रतिवेदनमा सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारी नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायले सम्पत्ति विवरण बुझाउन लगाउनुपर्ने सुझाव दिइएको छ ।
-रासस

प्रतिक्रिया