शिक्षा तथा स्वास्थ्य समितिको उपसमिति गठन

रिता घिसिंग

काठमाडौँ, २३ माघ (रासस) : सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको सो उपसमितिमा सांसद अञ्जना विसङ्खे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी रहनुभएको छ ।

विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो सो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । करीब २२ लाख जनसङ्ख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रुपमा रहेको सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन् ।

सो उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन १५ दिनको समयावधि तोकिएको छ । आजको बैठकमा समितिका सदस्यद्वय अधिकारी, योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गर्नुभयो ।

समितिका सदस्यद्वय उमेश श्रेष्ठ र उमाकान्त चौधरीले चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)को उपकुलपति पद खाली भएको पाँच महीना बितिसकेको भन्दै तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्नुभयो ।

प्रतिक्रिया