वनमौरी लोपोन्मुख हुँदै

रिता घिसिंग

कञ्चनपुर, २३ माघ (रासस) : कञ्चनपुरमा वन (भीर) मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ । 

मौरीले घार बनाउन रुचाउने रुख अवैध रुपमा कटानी भएपछि र झाडी मासेर बस्ती बसेसँगै वनमौरी लोपोन्मुख अवस्थामा पुगेको हो । लालपूर्जावाला जग्गाको प्रमाण देखाएर वनका कर्मचारीको मिलेमतोमा ऐलानी जग्गामा रहेका रुख धमाधम काटेर नासिएसँगै वन मौरीको सङ्ख्यामा समेत कमी आएको छ । 

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रका बस्तीमा रहेका सिमललगायतका रुख अवैध रुपमा कटानी तीव्र हँुदै गएसँगै वन मौरीसमेत देखिन छाडेको स्थानीयवासी धनुराम रानाले बताउनुभयो । 

 

विगतमा सिमलको एकै रुखमा सात देखि १० वटासम्म वनमौरीले घार बनाएर बस्ने गरेको भेटिन्थ्ये उहाँले भन्नुभयो,“सिमल कटानीसँगै वनमौरी देख्न समेत दुर्लभ भएको छ ।” 

 

निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन नजिकका क्षेत्रमा सिमलका रुख देख्न समेत दुर्लभ हुन थालेको छ । वन मौरी नासिनुको अर्को कारण जलवायु परिवर्तनको असर समेत भएको कृष्णबहादुर ठगुन्नाले भन्नुभयो, “चिसोमा धेरै चिसो र गर्मीमा धेरै गर्मी हुने हावाहुरीको स्वरुपमा समेत विगतको तुलनामा निकै फेरबदल भएकाले वातावरण अनुरुप ढाल्न नसक्दा वन मौरी लोपोन्मुख अवस्थामा पुग्न थालेको छ ।” 

 

वन मौरीले तोरीबाट मह बनाउन मन पराउने भए पनि त्यसमा विषादीको अत्यधिक प्रयोगले मौरी मर्ने गरेका छन् । सीप नभएका व्यक्तिले मौरीको घारमा आगो लगाई मह काड्ने गरेकाले पनि अधिकांश मौरी मर्ने गरेकाले पनि वन मौरीको अस्तित्व सङ्कटमा परेको छ । 

 

प्रतिक्रिया