राँझा, २६ माघ: प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओली चढेको कार बिहीबार साँझ करीब साढे ५ बजे दाङमा बससँग ठोक्किएर दुर्घटना भयो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका सांसद ओलीलाई लमहीस्थित अस्पतालले उपचारका लागि तत्कालै कोहलपुर शिक्षण अस्पतालमा सिफारिश ग¥यो ।
लमहीदेखि कोहलपुरको करीब १२५ किलोमिटर पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाका घाइते हेर्ने कुनै स्वास्थ्य संस्था छैनन् । “बाँकेको अगैयासम्म आउँदा राम्रोसँग श्वास फेर्नुभएको थियो, त्यहाँबाट यता धेरै समस्या भयो”, उहाँसँगै एम्बुलेन्समा आउनुभएका नारायण छम्पालीले भन्नुभयो ।
तीन घण्टापछि राति करीब ७.४५ बजे शिक्षण अस्पताल कोहलपुर ल्याउँदा सांसद ओलीको अवस्था अत्यन्त गम्भीर रहेको स्वास्थ्यकर्मी बताउँछन् । उहाँको उपचारमा खटिनुभएका शिक्षण अस्पतालका चिकित्सक दिनेश श्रेष्ठले २० मिनेटमात्र ढिलो अस्पताल पु¥याएको भए उपचार गर्न कठिन अवस्था आउने बताउनुभयो ।
“दुर्घटनाका घाइतेलाई तुरुन्तै उपचार भयो भने मानवीय क्षति कम हुन्छ, तर हामीकहाँ अस्पताल टाढा छन्”, डा श्रेष्ठले भन्नुभयो, “बिरामीलाई कहाँ के चोट लागेको छ त्यसको पहिचान गरी प्राथमिक उपचार गर्न सके विस्तारै सुधार आउँछ, तर हामी प्राथमिक उपचारसमेत नगरी लामो दूरीमा हिँडाउँदा बिरामीले उपचारै नपाएर ज्यान जोखिममा हुने गरेको छ ।”
बाँकेको कोहलपुर र नेपालगञ्जस्थित शिक्षण अस्पताल र भेरी अस्पतालमा साविकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट दुर्घटनाका बिरामी आउने गरेका छन् । सामान्य बिरामीले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पाउने गरेपनि गम्भीर बिरामीलाई कोहलपुर र नेपालगञ्ज ल्याउने क्रममा उपचारै नपाएर अवस्था गम्भीर हुने गरेको उहाँको भनाइ छ । चन्दले दुर्घटनास्थलदेखि अस्पतालको आपत्कालीन कक्षसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुनसके मानवीय क्षति स्वाभाविक रूपमा कम हुने बताउनुभयो ।
मुख्य राजमार्गमा प्रत्येक ३० किलोमिटरमा तालिमप्राप्त चिकित्सकसहितको राजमार्ग द्रुत उद्धार सेवा हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालमा उक्त व्यवस्था नहुँदा समस्या देखिएको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक प्रकाश शाह बताउनुहुन्छ । सडक दुर्घटनामा परेका घाइतेलाई बचाउन राजमार्गमा द्रुत उद्धार स्वास्थ्य सेवा जरुरी रहेको उहाँको भनाइ छ ।
नेपालमा प्रति एक लाखमा सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइएकाले अब स्थानीय तह र प्रदेशस्तरबाट राजमार्गमा तालीमप्राप्त चिकित्सकसहितको राजमार्ग द्रुत उद्धार समूह निर्माण तथा परिचालन गर्न सातै प्रदेशमा तयारी भएको महाशाखाका प्रमुख चिकित्सक शाहले बताउनुभयो ।
भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा रुपानन्द अधिकारीले घाइतेले सक्दो छिटो उपचार पाउन सके स्वास्थ्यमा सुधार आउने भएकाले द्रुत स्वास्थ्य उद्धारको नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । भेरी अस्पतालमा बढी दुर्घटनाका घाइते आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “घटनास्थलमा मेडिकल टिम नहुँदा कुन घाइतेलाई कहाँ सिफारिश गर्ने र कस्तो उपचार गराउने भन्नेमै अन्योल हुन्छ, त्यसले घाइतेको अवस्था गम्भीर बन्न जान्छ ।” रासस