चट्याङले टेलिकमको टावरमा क्षति हुँदा सेवा अवरुद्ध

admin

बाजुरा, १ फागुन: चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि साविक आँटीचौर, गुदुखाती, डोगडीलगायतका आसपास क्षेत्रको सम्पर्कविच्छेद भएको छ । टावरमा जडान गरिएका १५ वटै सोलारका पाता चट्याङ लागेर जलेको बताइएको छ ।

डोगडी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीका अनुसार पाता काम नलाग्ने गरी जलेको र टावरमा समेत क्षति पुगेको वडाध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार टेलिकमको टावरमा खबर गर्दा प्राविधिक पठाएर अवस्था बुझ्ने बताएकाले फोन सञ्चालनमा ढिलाइ हुने देखिएको छ । फोन पूर्णरूपमा अवरुद्ध भएपछि स्थानीय उपभोक्तालाई खबर आदानप्रदान गर्न समस्या भएको छ ।

त्यस्तै कालाजग्रामा रहेको नेपाल टेलिकमको टावरमा पनि चट्याङकै कारण क्षति भएको नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मनबहादुर रोकायाले जानकारी दिनुभयो । जसका कारण कोल्टी क्षेत्रका नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएको रोकायाले बताउनुभयो । टावर रहेको क्षेत्रमा अहिले पनि तीन फिट बढी हिँउ जमेका कारण मर्मत गर्न केही दिन लाग्ने अधिकारी रोकायाले बताउनुभयो । चट्याङकै कारण सिल्पेलेखमा रहेको सुविसु कम्पनीको टावरमा पनि क्षति पुगेको छ ।
-रासस

प्रतिक्रिया