अभिवक्ताबाटै ठगिए सर्वाेच्चका पूर्वन्यायाशीशः श्रीमतीको नाममा सम्पत्ति, गुम्ने डरले सम्बन्धविच्छेद

admin

काठमाडौँ, फागुन १ : सर्वाेच्च अदालतका पूर्वन्यायाधीश तथा देशका वरिष्ठ अधिवक्ताहरू नै अर्का एक अधिवक्ताबाट ठगिएका छन् ।  आफूलाई मानवअधिकारकर्मी भन्दै आएका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनले कानुनसम्बन्धी क्याम्पस स्थापना गर्ने भन्दै उठाएको रकम ठगी गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा  नवराज मैनालीले लेखेका छन् । 

२ करोड ७६ लाख हिनामिना गरेको अभियोगमा अधिवक्ता तथा मानवअधिकारकर्मी सिवाकोटी र उनका साथी बद्रीकुमार थापालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझाको अध्यक्षतामा कलेज स्थापनाका लागि खोलिएको मञ्जुश्री एकेडेमी कम्पनीको रकम सिवाकोटी र थापाले व्यक्तिगत प्रयोजनमा खर्च गरेका हुन् । कम्पनीका सेयरधनी रहेका सर्वाेच्चकै पूर्वन्यायाधीश भरतबहादुर कार्की, वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, विश्वकान्त मैनाली, श्रीहरि अर्याललगायत पीडित बनेका छन् । 

 

कलेज सञ्चालनका लागि भनेर जम्मा गरेको रकम उनीहरूले हिनामिना गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्तकुमार लामाले बताए । ‘दुवैजनालाई ठगी मुद्दामा जिल्ला अदालतले सात दिनको म्याद दिएको छ,’ उनले भने । अधिवक्ता सिवाकोटीले भने आफूले लिएकोमध्ये धेरै रकम साथी बद्रीकुमार थापालाई दिएको बताएका छन् । थापाविरुद्ध यसअघि नै कम्पनीले उच्च अदालत पाटनमा चेक अनादार मुद्दा दायर गरिसकेको छ । उनले कम्पनीलाई एक करोड ६ लाखको चेक दिएकोमा बाउन्स भएपछि मुद्दा दायर भएको थियो । पटक–पटक छलफलमा बोलाउँदा पनि पैसा फिर्ता नदिएपछि ठगी मुद्दामा जाहेरी दिइएको कोइरालाले बताए । 

 

 श्रीमतीको नाममा सम्पत्ति जोडे, गुम्ने डरले कानुनी रूपमै श्रीमतीसँग सम्बन्धविच्छेद गरे 

सिवाकोटी र थापाले ठगी गरेको रकमबाट श्रीमतीको नाममा सम्पत्ति जोडेको अनुसन्धानमा खुलेको छ । थापाले काठमाडौंको टोखा र चितवनमा जग्गा किनेका छन् । सिवाकोटीले पनि श्रीमतीको नाममा सम्पत्ति जोडेका छन् । कम्पनीले उनीहरूका श्रीमतीलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको छ  । तर, सम्पत्ति गुम्ने भएकाले दुवैले श्रीमतीसँग कानुनी रूपमा भने सम्बन्धविच्छेद गरेका छन् ।

प्रतिक्रिया