माग पूरा नगरी दिवस मनाएको भन्दै जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ता ब्यवस्थापन समितिको आपत्ति

शर्मिला गुरुङ

काठमाडौं, १ फागुन  :  २४ औँ जनयुद्व दिवसको अवसर पारेर जनयुद्वका घाईते, अपाङ्ग तथा बेपत्ता ब्यवस्थापन समितिले माग पूरा नगरी दिवस मनाएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर सरकारले आफुसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै गुनासो पोखेको छ । मेडिकल बोर्ड तथा शान्ती समितीकोे सिफारिशमा परेका घाईतेहरुलाई तत्काल उपचारार्थ बिदेश पठाईनुपर्ने, घाईते परिषद तत्कालै खारेज गरि जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा बृदि हुनेगरि तत्काल नयाँ समितीको गठन हुनुपर्ने, घाईतेहरुले पेष गरेको बिल भरपाई तुरुन्त लागु गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै बितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यान दिन सरकारलाई सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै जनयुद्वका घाईते रमेश कालिकोटेले सरकारले आफुहरुसंग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे । उनले भने,‘हाम्रा मागहरु पूरा नगरी जनयुद्व दिवश मनाएकोमा आपत्ति छ ।’ सरकारले घाईते तथा शहिदहरुको रगतको मसिले लेखिएको गणतन्त्रमा आफुहरुलाई अधिकारबिहिन बनाएको उनको आरोप छ ।

सरकारले विशालसभा गरेर जनयुद्व दिवश मनाईरहदा जनयुद्वका प्रत्यक्ष योद्वाहरु अझै शरिरभरि क्रान्तीको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उनले बताए । उनले भने, ‘हाम्रै बलिदानले देशमा परिवर्तन आएको होईन र? किन हामीलाई बलिदानको उपहारमा आज गृहमन्त्रालय प्रबेशमा रोक लगायौ ?।’

आफ्ना मागहरुको बारेमा गम्भिर बन्नपनि उनले सरकारलाई आग्रह गरे । उनले भने,‘हाम्रा मागहरुको सम्बोधन हुनुपर्छ । यदि सम्बोधन भएन भने हामी देशभरि रहेका हजारौ जनयद्व पिडितहरु संघर्षको कार्यक्रममा उत्रिन बाध्य हुन्छौं ।’ उनले देशले खोजेको परिवर्तन न्याय र समृद्व अधिकारको लागि भएको तर अधिकारका लागि लड्ने आफूहरुलाई नै आज अधिकारबिहिन बनाईएको गुनासो पोखे ।

सरकारले आज पीडितको नाममा मनाएको दिवश आफुहरुको निमित्त कालो दिन भएको उनले धारणा राखेका थिए । आफुहरुको समस्याका बारेमा स्वास्थ मन्त्रालयमा जानकारी गराउन खोज्दा पार्टी कार्यालयमा गएर धर्नामा बस भन्ने मन्त्री कसको बलिदानले पदको लाभमा बसेका हुन भन्ने प्रश्नसमेत उनले तेर्साए ।

कार्यक्रममा बोल्दै घाईते अपाङग तथा बेप्पत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहन कुमार योञ्जनले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिँड्ने पार्टीले आज आफुहरुको पीडा नसुनेको आरोप लगाए ।

सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको उनको आक्रोश छ । उनले मन्त्रालयमै बिष सेवन गर्दा पनि सरकारले पीडा नदेखेकोमा दुःख ब्यक्त गरे । ‘हामीले खान, लाउन मागेका होईनौ, क्रान्तिले तहसनहस पारेकोे हाम्रो स्वास्थ्य उपचारको ब्यवस्थाको अधिकारका खोजी गरेका हौं ।’-उनले भने ।

नेताहरुलाई घोडा चढ्न र गाडी कुदाउन मात्र परिवर्तन नखोजेको बताउँदै उनले आफूहरुको बुईं चढेर नेताहरु सक्तामा पुगेको आरोप लगाए । उनले भने,‘राज्यले हाम्रो स्वास्थ्य समस्याबारे गम्भिर भएर तुरन्त हामीलाई उपचारको व्यवस्था गर्नुपर्छ ।’ अहिले समय र जनता परिवर्तन भईसकेको कारण राज्यले आफ्ना मागहरुको सम्बोधनमा जोड दिनुपर्ने उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै जनयुद्वका शहिद परिवारका सदस्य ज्योती किरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए । दलाललाई खुशि पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरु मारमा परेको उनको भनाई रहेको थियो ।

क्रान्तिको विचारलाई बिर्सेर गरेको कार्यक्रम खारेज भएको घोषणा गर्दे उनले प्रकाण्ड र बिप्लवले देशमा आगो बालेको दिन कुन दिवस मनाउने हो तयार हुनसमेत चेतावनी दिएका छन ।

उनले भने,‘सत्तामा पुग्न बाटोमा गुच्चा खेलमा जितेर आएका होईनौ, हाम्रा परिवारका सदस्यहरुको लासमा टेकेर तपाई प्रधानमन्त्री बन्नुभएको हो ।’ उनले पार्टीका उच्च तहका नेताहरुको स्वर्गको बसाई धेरै दिन नटिक्ने पनि जिकीर गरे । ‘सेल्टरमा खाना देखि रगत दान गर्नेहरुको रगतले नेताहरुलाई कुनै दिन अवश्य सराप्ने छ’–उनले आक्रोश पोखे । आजको उपलब्धि क्रान्तिको उपलब्धि नभई बेईमानीको पराकाष्ठा भएको पनि उनले आरोप लगाए ।

त्यस्तै कार्यक्रममा बोल्दै महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहिदको राज्यले अपहेलना गरेको गुनासो पोखिन् । उनले भनिन्,‘एकाध ब्यक्तिको प्रगति देखेर हाम्रा सपना पुरा हँुदैनन, आजको दिन ती महान शहिदहरुको हो जसले आफ्ना बिचार बेचेनन् ।’ राज्यले आफुहरुलाई गैर–जिम्मेवारीपुर्ण ब्यवहार देखाएकोमा बलिदानको अर्थमा ध्यान दिन सरकारसमक्ष आग्रह गरेकी थिईन ।

प्रतिक्रिया