संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ: डा भट्टराई

admin

गोरखा, १ फागुन: नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । 

गोरखाको पालुङटारमा आज स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताउनुभयो । पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा आइपुग्नुभएका उहाँले नेपाली जनताको चाहना विकास र समृद्धि भएकाले सबैले इमान्दारिता साथ आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । “सुशासन र विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन,” डा भट्टराईले भन्नुभयो, “यहाँ सबैमा इमन्दारिताको खाँचो छ ।” 

 

नेपाली जनताको त्याग र बलिदानबाट नेपालमा गणतन्त्र आएकाले शहीदले देखाएको बाटो भुल्न नहुने उहाँको भनाइ थियो । तत्कालीन नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट अहिलेको परिवर्तन सम्भव रहेको डा भट्टराईले बताउनुभयो । जनयुद्धको राजनीतिक नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गर्व लागेको र त्यही आन्दोलनका कारण नेपालमा राजतन्त्रको अन्त्य सम्भव भएको उहाँले बताउनुभयो । जनताको भावना र चाहना बुझ्न मध्यपहाडी लोकमार्ग जागरण अभियानमा हिँडेको डा भट्टराईले बताउनुभयो ।

-रासस

प्रतिक्रिया