नेपालद्वारा इरान पराजित

admin

काठमाडौँ, १ फागुन: हिरो गोल्डकपअन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको खेलमा नेपालले इरानविरुद्ध फराकिलो जीत निकालेको हो । जीतसँगै नेपालको फाइनल यत्रासमेत बलियो बनेको छ । नेपालका लागि सावित्रा भण्डारीले दुई र अनिता बस्नेतले एक गोल गरिन् । सावित्राले खेलको ५९औँ तथा ८९औँ मिनेटमा गोल गरिन् । यस्तै अनिताले खेलको ४१औँ मिनेटमा गोल गरेकी थिइन् । जीतसँगै ६ अङ्क जोड्दै नेपाल फाइनल पुगेको छ । सावित्राले भारतविरुद्धको खेलमा समेत दुई गोल गरेकी थिइन् । हारसँगै इरान प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै अर्को खेलमा म्यानमारले भारतसँग खेल्दैछ । म्यानमारले भारतलाई पराजित गरेमा नेपाल प्रतियोगिताको फाइनल पुग्नेछ । भारतले जितेमा गोल अन्तरका आधारमा फाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । नेपाल पहिलो खेलमा म्यान्मासँंग ३–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतविरुद्ध २–१ को जीत निकालेको थियो । एक खेलमा जीत र एक खेलमा पराजित भारतको तीन अङ्क तथा म्यान्माले दुवै खेल जित्दै ६ अङ्क जोडेको छ । प्रतियोगितामा आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी छन् ।
-रासस

प्रतिक्रिया