खेलकूदका माध्यमबाट कर्णाली चिनाउँछौँ : मुख्यमन्त्री शाही

admin

सुर्खेत, १ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकूदका माध्यमबाट कर्णाली प्रदेशलाई विश्वमाझ चिनाउने अभियान थाल्ने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘प्रथम मुख्यमन्त्री रनिङ शिल्ड’ पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली खेल क्षेत्रको सम्भाव्य भूमि भएको बताउनुभयो । “हामी स्थानीय तहबाट खेल विकासको संरचना खडा गर्छौं,” उहाँले भन्नुभयो, “यसमा सम्भावनाको व्यापक खोजी आवश्यक छ ।” विश्वसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ कर्णालीमा ऐतिहासिक ‘प्रथम मुख्यमन्त्री रनिङ शिल्ड’ आयोजना गरिएको उहाँको भनाइ थियो ।

“सडकमा आलोचना नगरी सरकारलाई उचित सुझाव दिएर यहाँका विकासका लागि सहयोग गर्न आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो । उहाँले कर्णाली प्रदेश निर्माणका लागि कर्णालीवासी नै सक्रिय हुनुपर्ने आँैल्याउनुभयो । “कर्णालीको विकासका लागि एकताबद्ध भएर अघि बढ्न जरुरी छ,” शाहीले भन्नुभयो, “अन्य क्षेत्रभन्दा कर्णालीको निम्ति सङ्घीयता बढी आवश्यक छ ।” कर्णालीका सबै सूचकाङ्कलाई आशलाग्दोमा परिणत गरेर देखाउने उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले समाजलाई एकताबद्ध गराउन खेलकूद महत्वपूर्ण विधा भएको बताउनुभयो । “आधुनिक युगमा विश्वमा कूटनीतिको माध्यमका रुपमा खेलकूद विधालाई लिन सकिन्छ,” उहाँले भनुभयो, “यसले समाजमा पनि बहुआयामिक प्रभाव पार्नुका साथै राष्ट्रिय भाव झल्काउँछ ।”

सामाजिक विकासमन्त्री दल रावलले सामाजिक न्यायससहितको विकास र समृद्धि कर्णाली सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभयो । ‘प्रथम मुख्यमन्त्री रनिङ शिल्ड’ पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुषतर्फ हुम्ला र जाजरकोट, जुम्ला र डोल्पा तथा रुकुम र सल्यानबीच खेल भएको थियो । ती खेलमा जाजरकोट, जुम्ला र सल्यान विजयी भए । महिलातर्फ जाजरकोट र जुम्ला, दैलेख र मुगु तथा रुकुम र कालीकोटबीच भलिबल खेल भएको थियो । ती खेलमा जुम्ला, दैलेख र कालीकोट विजयी भए ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, प्रदेशसभा सदस्य पदमबहादुर रोकाया, पद्मा खड्का, कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायलगायतको उपस्थिति थियो । प्रतियोगितामा प्रदेशका १० जिल्लाका खेलाडी तथा अफिसियल गरी झण्डै २५० जनाको सहभागिता छ ।
-रासस

प्रतिक्रिया