ओझेलमा चितवनको सिराइचुली

कृष्ण रोकाया

मुग्लिन, २ फागुन : चितवनको इच्छाकामना गाउँपालिका–१ हातिवाङ (काउले)मा रहेको पर्यटकीयस्थल सिराइचुली प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।

समुद्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली चितवनकै सबैभन्दा अग्लो भूमि हो । यहाँबाट बिहान सूर्याेदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । साथै सिराइचुलीबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको सम्पूर्ण भूभाग तथा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, लाङ्टाङ, गणेश, मनास्लुलगायतका हिम शृङ्खला सजिलै देख्न सकिने पथप्रदर्शक (गाइड)को काम गर्दै आएका तिलक गिरीले बताउनुभयो ।

मौसममा लालीगुँरासले ढकमक्क भरिएको जङ्गल टाढा–टाढासम्मको रमणीय दृश्य र विविध प्रकारका चराचुरुङ्गी पनि यहाँ देख्न पाइन्छ । सिराइचुलीमा बाह्य र आन्तरिक दुवै पर्यटकहरु आउने गर्दछन् । अक्टोबरदेखि डिसेम्बरसम्म सिराइचुली यात्राका लागि राम्रो मौसम भएको गिरीले बताउनुभयो ।

पर्यटकलाई लोभ्याउने प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि प्रचारप्रसार र संरक्षणको अभावका कारण पर्यटकहरु कम आउने गरेका छन् । तर एक पटक सिराइचुली आएका पर्यटकहरु दोह¥याइ तेह¥याइ आउने गरेको उहाँले बताउनुभयो ।

भौगोलिक विकटताका कारण यहाँ पर्यटकहरु सोचेजति आउन नसकेको वडाध्यक्ष नन्दुलाल गिरीले बताउनुभयो । पछिल्लो केही वर्षयता मोटरबाटो पुगेपछि पर्यटकलाई केही सहज भएको उहाँको भनाइ छ ।

अहिलेसम्म कति पर्यटक आए भन्नेबारेमा तथ्याङ्क नराखेको घरवास सञ्चालन गर्दै आएका रामजीपुरीले बताउनुभयो । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित हुग्दिखोला र चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुँदै सवारी साधनमा पुग्न सकिन्छ ।

करीब दुई घण्टाको मोटरबाटो यात्रापछि हात्तीवाङ पुगिन्छ । त्यसपछि डेढ घण्टा पैदल हिँडेर सिराइचुली पुग्न सकिन्छ । एक दिन पहिले हात्तीवाङ गएर बास बसेर सुर्योदय हेर्न बिहान ४ बजे डेढ घण्टाको पैदल हिँडेर सिराइचुली पुग्न सकिन्छ ।

हात्तीवाङमा पर्यटकहरु बस्ने होमस्टेहरु(घरवास) छन् । पाहुना पर्यटकलाई पथप्रदर्शकको व्यवस्था पनि छ ।

नयाँ वर्षमा मेला

सिराइचुलीमा हरेक वर्ष नयाँ वर्ष वैशाख १ गते मेला लाग्ने गर्दछ । सिराइचुलीमा रहेको सिद्धेश्वर बाबाको मन्दिरमा त्यहाँका स्थानीय आमा समूहले मेलाको आयोजना गर्छन् । मेला हेर्न तथा दर्शन गर्न स्थानीय तथा छिमेकी जिल्ला धादिङ, गोरखा लगायतबाट समेत आउने गर्दछन् ।

सिराइचुलीमा दृश्यावलोकन स्तम्भ बन्ने भएको छ । स्तम्भ निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न गाउँपालिकाले रु आठ लाख विनियोजन गरेको वडाध्यक्ष नन्दुलाल गिरीले जानकारी दिनुभयो । अहिले सिराइचुलीसम्म जाने बाटोमा सिँढी निर्माण कार्य भइरहेको पनि गिरीले बताउनुभयो । रासस

प्रतिक्रिया