मातृशिशु मृत्युदर घट्यो

admin

दाङ, २ फागुन: तुलसीपुर उपमहानगरपालिकाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत शुरु गरेको सुत्केरी प्रोत्साहन भत्ता यस आर्थिक वर्षको माघसम्ममा ८४४ सुत्केरीले पाएका छन् । साउनदेखि माघसम्ममा रु १९ लाख ८९ हजार सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुविधा प्राप्त गर्न उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चारपटक अस्पतालमा गई गर्भ जाँच गराउनुपर्ने, सरकारी अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्ने लगायतका प्रावधान छन् । 

उहाँले ती सबै प्रक्रिया पूर गरे आएका सुत्केरीलाई सरकारबाट प्रदान गरिने रु एक हजार ८०० मा उपमहानगरपालिकाले रु तीन हजार २०० थप गरेर प्रति सुत्केरीलाई रु पाँच हजार भत्ता प्रदान गर्ने गरेको बताउनुभयो । उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने सङ्ख्या बढेको पनि डा दाहालले बताउनुभयो । उहाँले सुत्केरी भत्ताका कारणले गर्दा पनि महिला नियमित स्वास्थ्य जाँच गराउन जाने गरेको बताउनुभयो । गत आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकाबाट एक हजार ५०५ महिलाले सुत्केरी प्रोत्साहन भत्ता प्राप्त गरेका थिए । 

 

दाहालले गत वर्ष एक हजार ५०५ जना सुत्केरीलाई सरकारले प्रदान गर्दै आएको प्रतिसुत्केरी रु ९०० मा रु चार हजार १०० उपमहानगरपालिकाले थप गरेर रु ५६ लाख भत्ता वितरण गरेको बताउनुभयो । उपमहानगरपालिकाले सो भत्ता वितरण गर्न थालेपछि गत सालबाट नै मातृशिशु मृत्युदरमा कमी आएको डा दाहालको भनाइ थियो । डा दाहालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख २३९ रहेकामा तुलसीपुरको मातृशिशु मृत्युदर ४५ प्रतिशत प्रतिलाख रहेको छ ।

 

 “यो वर्ष अझै पनि कम हुने हाम्रो अपेक्षा रहेको छ”, दाहालले भन्नुभयो । तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु मृत्युदर कम गर्नका लागि सुत्केरी प्रोत्साहन भत्ता दिने कार्यक्रम अगाडि सारेको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । हाँले कार्यक्रम फलदायी भएको बताउँदै निम्न वर्गका परिवारका लागि पोषिलो खानेकुरा खाने र न्यानो लुगा लगाउने काममा पैसा खर्च हुने गरेकोसमेत बताउनुभयो । “आमा र बच्चाको स्वास्थ्य ठिक होस् भनेर हामीले यस्तो गरेका हौँ”, नगर प्रमुख पाण्डेले भन्नुभयो ।

 

-रासस

 

प्रतिक्रिया