चितवन, २ फागुन: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीलाई नयाँ ढङ्ग र विचारबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । काङ्ग्रेस चितवनले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टीको रणनीतिक कार्ययोजना बनाउन नसक्दा साङ्गठनिक संरचनामा समस्या आएको विचार राख्नुभयो ।
पार्टीले लिएको कार्ययोजना गाउँ तहका कार्यकर्तासम्म पुग्नु आवश्यक रहेको बताउँदै उहाँले नयाँ कार्ययोजना र नयाँ ढङ्गले अघि बढाउनसके आगामी निर्वाचनमा बहुमत दिलाउन सहज हुने बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै जनताको घरदैलोमा पुग्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, नेपाल महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह, क्षेत्रीय सभापति लालबहादुर दवाडी लगायतले पार्टी बलियो बनाउनका लागि केन्द्रीय समिति लाग्नुपर्ने धारणा राख्नुभएको थियो ।
-रासस