इच्छाशक्ति र राजनीतिक प्रतिबद्धता चाहिएको छ : मुख्यमन्त्री गुरुङ

admin

गोरखा, २ फागुन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब अरुलाई देखाएर विकास र समृद्धिबाट भाग्ने छुट कसैलाई नभएको बताउनुभएको छ । गोरखा नगरपालिका–६ हस्पिटल चोकमा निर्माण गरिएको नेपालका प्रथम शहीद लखन थापामगरको अर्धकदको सालिकको आज अनावरण कार्यक्रममा उहाँले नेपाली जनताले पाउनुपर्ने सबै राजनीतिक अधिकार प्राप्त गरिसकेकाले अबको काम विकास र समृद्धि नै भएको उल्लेख गर्नुभयो ।

तीन तहको सरकार बनेको एक वर्ष बित्नै लाग्दा पनि कर्मचारी समायोजनको काम टुङ्गिन नसकेको भन्दै मुख्यमन्त्री गुरुङले सङ्घीय सरकारप्रति असन्तुष्टिसमेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, “आजका दिनसम्म पनि प्रदेश सरकार, स्थानीय सरकारको कार्यालय व्यवस्थापन भइसकेका छैनन्, वित्तीय स्रोतको बाँडफाँटको कुरा समुचित हुन सकेको छैन, यो प्रदेश सरकारका लागि चुनौती बनेको छ ।” उहाँले अब देशमा रहेका ७६१ वटै सरकारले शिक्षा, स्वास्थ र रोजगारीको व्यवस्था कसरी गर्न सकिन्छ भन्नेमा ध्यान दिनेबेला आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “इच्छाशक्ति र राजनीतिक प्रतिबद्धता चाहिएको छ त्यो प्रतिबद्धता हामी सबैले गर्नु जरुरी छ ।”
-रासस

प्रतिक्रिया