आगलागीपीडितलाई हिमाली गाउँ संरक्षणको सहयोग

शर्मिला गुरुङ

बनेपा, ३ फागुन  : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीस्थित छापका आगलागीपीडित गङ्गाबहादुर तामाङको परिवारलाई हिमाली गाउँ संरक्षण समितिले सहयोग प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष नीरध्वज लामा नेतृत्वको टोलीले पीडित परिवारलाई खाद्यान्न, भाँडाकुँडा, भान्साका लागि आवश्यक पर्ने भाँडादेखि खाद्यान्न सामान र लत्ताकपडा उपलब्ध गराएको हो । “पीडित परिवारलाई राहतस्वरुप तत्कालका लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएका हौँ”, लामाले भन्नुभयो, “समस्या परेका परिवारलाई संस्थाको तर्फबाट मलम लगाउन सानो सहयोग हो ।”

उहाँले चामल, दाल, तेल, नुन, चिनी, चियापत्ती, चाउचाउ, खाना पकाउने भाँडा, थाल, बाटा, पानी थाप्ने ड्रम, सिरक, डस्ना, सिरानी र तन्नालगायतका सामग्रीहरु उपलब्ध गराउनुभएको छ ।

गत माघ २६ गते राति विद्युत् सर्ट भई आगलागी हुँदा गङ्गाबहादुर तामाङको दुईतले घर जलेर नष्ट हुँदा नगद रु तीन लाख ५० हजार, धान, मकै, कोदो, तोरी, लत्ताकपडा र भाँडाकुँडा गरी कूल रु १५ लाख बराबरको क्षति भएको थियो ।

घर ध्वस्त भएपछि अहिले छ जनाको परिवार नजिकैको छिमेकीको घरमा बस्दै आएको छ । घर जलेर नष्ट भएपछि खाद्यान्न र भाँडाकुडा, ओड्ने ओछ्याउने र लगाउनेबाहेकका अरु लत्ताकपडासमेत केही नभएकाले निकै समस्यामा परेको पीडित तामाङले संस्थाको तर्फबाट प्राप्त सहयोगले धेरै राहत मिलेको बताउनुभयो । त्यसरी समस्यामा रहेको परिवारलाई नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा बनेपाले पनि तत्कालका लागि राहतस्वरुप लत्ताकपडा र भाँडाकुडा उपलब्ध गराएको पीडित तामाङले बताउनुभयो । रासस

प्रतिक्रिया