प्रहरीद्वारा एकलाख अफिमका बिरुवा नष्ट

रिता घिसिंग

सुर्खेत, १३ फागुन (रासस) : जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ । लेकबँेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईको नेतृत्वमा खटिएको ६ जनासहित २४ जनाको टोलीले अफिमखेती नष्ट गरेको जिप्रका सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र सर्वसाधारणको सहभागितामा छ बिघा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । साथै प्रहरीले लामिडाँडा गाउँमा ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महीना उत्कृष्ट लागुऔषध नियन्त्रण पुरस्कार जिप्रका सुर्खेतले दिँदै आएको छ ।

प्रतिक्रिया