ढाँटखर्क भालचौरमा १५ शैयाको अस्पताल बन्दै

रिता घिसिंग

बनेपा, १३ फागुन (रासस) : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरी देउराली गाउँपालिका–५ पोखरीचौरीस्थित ढाँटखर्क भालचौरमा १५ श्ययाको अस्पताल बन्ने भएको छ । 

साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई ‘अपडेट’ गरी १५ श्ययाको अस्पताल बन्ने तयारी भइरहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का अध्यक्ष राजकुमार गौतमले बताउनुभयो । “त्यसका लागि आवश्यक पर्ने १६ रोपनी जग्गाको व्यवस्थापन गरिसकेका छौँ”, गौतमले भन्नुभयो, “स्वास्थ्यचौकीको नाममा पहिला नै भएको पाँच रोपनी गर्दा २१ रोपनी जग्गा हामीसँग प्राप्त भइसकेको छ, अब छिट्टै भवन निर्माणको काम अगाडि बढ्छ ।” स्थानीय बासिन्दाको सहयोगमा सो जग्गा प्राप्त गरेको वडाध्यक्ष गौतमले बताउनुभयो । 

 

अस्पतालको भवन निर्माण गर्न प्रदेशसभा सदस्य रत्न ढकालको पहलमा प्रदेश सरकारबाट यसै आर्थिक वर्षको बजेटबाट रु एक करोड ६९ लाख प्राप्त भएको छ । सांसद ढकालले प्रदेशबाटै भवनको डिजाइन भइरहेको बताउनुभयो । “पहिला बनाएको डिजाइनमा अलि फरक गर्नुपर्ने भएपछि अर्को तयारीमा रहेको छ”, सांसद ढकालले भन्नुभयो, “त्यसको टुङ्गो लाग्ने वित्तिकै निर्माणकार्य अगाडि बढ्छ ।” अस्पतालका लागि डा नियुक्तीको विषयमा समेत प्रक्रिया अगाडि बढिरहेको उहाँले बताउनुभयो । 

 

चौरी देउराली गाउँपालिका स्वास्थ्य शाखा संयोजक तेज घिसिङले अस्पताल निर्माणका लागि केही समय अगाडि निर्देशिका र कार्यविधि प्राप्त भइसेकाले अब व्यवस्थापन समितिको बैठक छिट्टै बसेर स्वास्थ्य सामग्री खरीदको प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको बताउनुभयो । 

 

“व्यवस्थापन समितिको बैठक बसेपछि कहिलेबाट कसरी काम शुरु गर्ने भन्ने कुरा टुङ्गो लाग्ने बितिकै सूचना प्रकाशन गरेर काम अगाडि बढ्छ”, स्वास्थ्य शाखा संयोजक घिसिङले भन्नुभयो । 

 

प्रतिक्रिया