खेल सङ्घको विवाद अन्त्य हुँदै

रिता घिसिंग

काठमाडौँ, १३ फागुन (रासस) : लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले मोर्डन पेन्टाथलन सङ्घ र मोर्डन पेन्टाथलन महासङ्घको एकीकरण गरी विवाद अन्त्य गरेको हो ।

समितिको संयोजक रहनुभएका तिम्सिनाले आफू अध्यक्ष रहेको उक्त सङ्घलाई मोर्डन पेन्टाथलन महासङ्घ नेपालसँग एकीकरण गरी विवाद अन्त्य गराएको बताउनुभयो । उपाध्यक्ष तिम्सिना नेतृत्वमा २०७० सालमा राखेपमा मोर्डन पेन्टाथलन सङ्घ गठन भएको थियो । लगत्तै २०७२ सालमा राजेन्द्र श्रेष्ठको नेतृत्वमा मोर्डन पेन्टाथलन फेडेरेशन नेपाल गठन भएको थियो ।

उपाध्यक्ष तिम्सिनाले भन्नुभयो, “आफ्नो अध्यक्षतामा रहेको सङ्घलाई श्रेष्ठ नेतृत्वको महासङ्घसँग एकीकरण गरेका छौँ, विवादका कारण सङ्घको गतिविधि अघि बढ्न नसकेकाले एकीकरण गरी एउटै सङ्घ बनाएका छौँ ।”

एकीकृतपश्चात मोर्डन पेन्टाथलन महासङ्घ नेपाल नामाकरण गरी अध्यक्षमा राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लालचन्द्र रानाभाट र मोहनकुमार डाँगी चयन हुनुभएको छ । उपाध्यक्षमा शकुन्तला नगरकोटी, अरुणप्रसाद श्रेष्ठ, भगवती विष्ट, राजु दर्शन, गोपाल न्यौपाने हुनुहुन्छ ।

महासचिवमा यादवबहादुर बस्नेत, उपमहासचिवमा इन्दिरा निरौला, सचिवमा रामहरि सिलवाल, यदुकुमार बस्नेत र नारायण पौडेल, कोषाध्यक्षमा नारायण पौडेल र सहकोषाध्यक्षमा शैलेन्द्रमान श्रेष्ठ रहनुभएको छ । सदस्यमा धावा रुम्बा, किरण गिरी, निषेश चापागाईं, रचना लाखेमोरु, मुकुन्दहरि श्रेष्ठ, रितेश श्रेष्ठ, महेश श्रेष्ठ, सुन्दर प्रजापति, राजेश श्रेष्ठ र भीमप्रसाद सुवेदी रहेका छन् ।

तिम्सिना नेतृत्वको उक्त समितिले यसअघि जिम्न्याष्टिक सङ्घको विवाद समाधान गर्दै तदर्थ कमिटी गठन गरेका थियो । सङ्घहरुको विवादका कारण महत्वपूर्ण खेलका गतिविधि अघि बढ्न सकेका छैनन् । उसु, कराँते र तेक्वान्दो जस्ता खेलको विवाद अझै समाधान हुन सकेको छैन ।

समितिले उक्त सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र विवाद समाधान हुने समितिका अर्का सदस्य युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । “उहाँहरुसँग भएको छलफल सकारात्मकरूपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफल गर्छौँ र विवाद समाधान गर्छौँ” उहाँले भन्नुभयो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पछिल्लो समय खेल सङ्घहरूमा देखिएको विवाद समाधान गर्न गत मङ्सिर १७ गते मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा एक समिति गठन गर्नुभएको थियो ।

मन्त्रालयले उपाध्यक्ष तिमिल्सिनाको संयोजकत्वमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र राखेपको खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । एउटै खेलका दुईवटा खेल सङ्घ हुँदा विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागिता कसले गर्ने भन्ने बढी विवाद हुने गरेको छ । समितिले खेल सङ्घको छलफलपछि ओलम्पिक कमिटीसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

एउटै प्रकृतिका खेल सङ्घहरू भिन्नभिन्न हुँदा खेलाडीहरूलाई पनि अप्ठेरो परेकाले समस्या समाधानका लागि मन्त्रालयले आफूलाई जिम्मेवारी दिएको तिम्सिनाको भनाइ छ । यता हालै मन्त्रालयले तयार गरी राष्ट्रियसभामा पेश गरेको ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७५’ मा समेत एउटै प्रकृतिका दुईवटा खेल सङ्घहरु हुन नपाइने व्यवस्था गरेसँगै खेल सङ्घहरुको कि विवाद अन्त्य गर्नु कि त खारेजीमा जानुपर्ने बाध्यता आइलागेको छ ।

प्रतिक्रिया