बालविवाह गर्नेको सुविधा काटिने

admin

बाजुरा, १३ फागुन : बूढीगङ्गा नगरपालिका–१० मा रहेको भगवती माविले बालविवाह गर्ने विद्यार्थीलाई यस वर्षको वार्षिक परीक्षा र विद्यालयबाट दिइने छात्रवृत्ति नदिने निर्णय गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाले पछिल्लो तीन महीनाको अवधिमा धेरै बालविवाह गरेको पाइएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयबाट पाइने सम्पूर्ण सेवासुविधासमेत नदिने निर्णय गरेको प्रधानाध्यापक पूर्णबहादुर शाहीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीले औपचारिक निर्णय गर्दै बालविवाह गर्ने विद्यालय सेवा क्षेत्रभित्र रहेका १४ देखि १७ वर्षसम्मका विद्यार्थीले बालविवाह गरेको पाइएकाले यस्तो निर्णय गर्न आफूहरु बाध्य भएको उहाँको भनाइ छ । हरेक पटक विद्यालयबाट सचेत गराउँदासमेत अटेरी गरेका विद्यार्थीलाई यस्तो गर्न विद्यालय प्रशासन बाध्य भएको प्रअ शाहीले जानकारी दिनुभयो ।

जिल्ला बालअधिकार सञ्जाल र विद्यालय प्रशासनले गरेको अनुगमनबाट गत मङ्सिरदेखि हालसम्मको तीन महीनाको अवधिमा १३ जोडीले बालविवाह गरेको तथ्य फेला परेको जिल्ला बाल सञ्जालका सचिव पारस रावलले जानकारी दिनुभयो । बालविवाह गर्ने जोडी सबैभन्दा बढी वडा नं १० मा रहेको सञ्जालका सचिव रावलले बताउनुभयो ।
-रासस

प्रतिक्रिया