मेलम्ची नगरपालिकाको गुरुयोजना बन्दै

admin

मेलम्ची, १३ फागुन : मेलम्ची नगरपालिकाको एकीकृत नगर विकास योजना २०७५÷७६ देखि २०८०÷८१ सम्मको अन्तिम छलफल आज सम्पन्न भएको छ । दीर्घकालीन नगर योजना तयार पारेर गुरुयोजनाअनुसार नगरपालिकाले विकासको कार्य अगाडि बढाउने नगर प्रमुख डम्बर अर्यालले बताउनुभयो । गुरुयोजनामा नगर चक्रपथ बनाउने र प्रत्येक वडामा जाने बाटो पक्की बनाउने उल्लेख छ ।

त्यस्तै शत्प्रतिशत घरमा बिजुली पु¥याउने, नगरभित्रको खानेपानी समस्यामुक्त गर्ने, हरेक वडामा अस्पताल निर्माण गर्ने योजनामा समावेश गरिएको छ । कृषि उत्पादनमा नगरपालिका आत्मनिर्भर हुने र निर्यातमुखी वातावरण सिर्जना गर्ने, गरीबीको रेखामुनि रहेका २५ प्रतिशतलाई घटाएर १२ प्रतिशतमा झार्ने, पर्यटनको आधार भएको नगरपालिकाका रुपमा विकास गर्ने योजनामा उल्लेख रहेको बताइएको छ ।

काठमाडौँसँग जोडिएको नगरपालिका भएकाले वैकल्पिक शहरका रुपमा विकास गर्दै लैजाने, वन क्षेत्रमा आम्दानी दिने खाले फलफूल र अन्य जातका बिरुवा लगाएर ३८ देखि ४० प्रतिशतले वृद्धि गर्ने तथा मेलम्ची क्षेत्रमा वैकल्पिक करिडोर मालवाहक गाडी हिँड्ने बाटोको निर्माण गर्ने मुख्य योजनाभित्र परेका छन् ।

योजनालाई सुझाव दिँदै पूर्वकानूनमन्त्री तथा सांसद शेरबहादुर तामाङले मेलम्चीलाई चिनाउनुपर्ने बताउनुभयो । उहाँले मेलम्ची चिन्नका लागि एउटा चिह्नका रुपमा विकास गर्दैै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्पपछि बनेका घर साना भएकाले प्रत्येक साबिकका वडामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्नुपर्ने र त्यसलाइ गुरुयोजनामा समावेश गर्नपर्ने बताउनुभयो । उक्त योजना सम्पन्न गर्न रु १२ अर्बभन्दा बढी लाग्ने र यसको स्रोतका रुपमा नेपाल सरकार, दातृ निकाय र नगरको आन्तरिक स्रोत रहने बताइएको छ ।
-रासस

प्रतिक्रिया