दक्षिण कोरिया महिला कामदारलाई कम ज्याला दिने मुलुकमध्ये अग्रस्थानमा

admin

सोल, दक्षिण कोरिया, १३ फागुन: महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । सन् २०१७ को तथ्याङ्क अनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी पाउने गरेका पाइएको छ ।

ओइसिडी राष्ट्रका कामदारको औसत आम्दानीभन्दा दुई तिहाइ कमी ज्याला भूक्तानी पाउने श्रमिकको आम्दानीलाई न्युनतम आम्दानी भएको मानिन्छ । ३६ राष्ट्रहरू सदस्य रहेको ओइसिडीमा दक्षिण कोरियाका महिलाको ज्याला भूक्तानी दरमा आर्थिक हिसाबले सम्वृद्ध मानिने आठ मुलुकमध्ये सबैभन्दा अग्रस्थानमा रहेको सन् २०१७ को तथ्याङ्कले देखाएको छ । दुई नम्बरमा रहेको अमेरिकामा २९.०७ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको पाइएको छ ।

सर्वेक्षणले सन् २०१६ मा २३ देशको तथ्याङ्क तुलना गरेको थियो जसमा उक्त बर्ष ३७.२ प्रतिशत महिलाको आम्दानी मापदण्डभन्दा कम रहेको थियो । सन् २०१६ मा इजरायल ३०.४२ प्रतिशतसहित दोस्रो कम ज्याला भूक्तानी गर्ने स्थानमा रहेको थियो । सन् २०१७ मा ओइसिडी राष्ट्रका लागि औषत ज्याला भूक्तानी प्रतिशत दर २०.०१ प्रतिशत रहेको थियो ।

यद्यपि दक्षिण कोरियाका लागि सान्त्वनाको कुरा के छ भने महिलालाई निम्न ज्याला दिने मुलुकको अग्रस्थानमा नाम आएपनि आफ्नै पूराना रेकर्डलाई भने कोरियाले सुधार गरेको छ । सन् २००० मा यो दर ४५.७७ थियो भने २०११ मा ३८.२१ रहेको थियो । तर सन् २०१४ पछि महिलालाई दिइने ज्यालादरमा क्रमशः वृद्धि भएको छ । दक्षिण कोरियामा पुरूष कामदारलाई दिइने ज्याला भने सन् २०१७ मा औषतको नजिक रहेको देखिएको तथ्याङ्कमा छ । कम ज्याला पाउने पुरूष १४.३ प्रतिशत रहेको र आठ मुलुकमध्ये पाँचौँमा परेको छ । यो दर सन् २०१६ मा १५.३ प्रतिशत रहेको र मापन गरिएका २४ मुलुकमध्ये नवौँमा परेको थियो ।

प्रतिक्रिया